झापा, कचनकवल - गाउँकै गौरव, कोशी प्रदेशकै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित अस्मिता देवानले आज मंगलबार बीष सेवन गरी गरेको आत्महत्याले कचनकवल मात्र होइन, सम्पूर्ण शैक्षिक क्षेत्र नै स्तब्ध बनेको छ। कचनकवल गाउँपालिका-३ (दल्की) निवासी २२ वर्षीया देवान आफ्नो सरल स्वभाव, मेहेनती पढाइ र असाधारण क्षमताका कारण समुदायको प्रेरणाको केन्द्र थिइन्।
विगत २०७९ सालको कक्षा १२ को परीक्षामा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कोशी प्रदेशमै उत्कृष्ट नतिजा ल्याएर अस्मिताले न केवल कचनकवलको नाम उज्यालो पारेकी थिइन्, उनले मेहनत, साधनशक्ति र लगनशीलताको बेजोड उदाहरण स्थापित गरेकी थिइन्। कचनकवल विद्या मन्दिर माविबाट परीक्षा दिएर प्रदेशमै उत्कृष्ट बन्नु उनको प्रतिभा र अनुशासनको सुन्दर मेल थियो। उनीप्रति सम्मानस्वरूप कचनकवल गाउँपालिका, बनियानीले विशेष सम्मान र पुरस्कारसमेत प्रदान गरेको थियो।
मित्रता र मानवीयता अस्मिताको पहिचान थियो। साथीसँग मिलनसार व्यवहार, परिवारप्रति कर्तव्यनिष्ठा र भविष्यबारेको स्पष्ट दृष्टिले उनी सबैको मनमा बस्न सफल थिइन्। यति प्रतिभाशाली, सम्भावनाले भरिएको युवा जीवन यसरी अचानक अवसान हुँदा गाउँमा बनाएको स्तब्ध वातावरणले मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौतीहरू कति गम्भीर छन् भन्ने यथार्थ पुनः उजागर भएको छ।
समुदायका अभिभावक, विद्यार्थी र शिक्षकहरूका लागि पनि यो घटना गम्भीर समीक्षा र संवेदनशीलताको आह्वान हो-हाम्रो वरपरका युवाहरू कस्ता मानसिक दबाबबाट गुज्रिरहेका छन्, उनीहरूलाई कत्तिको सुन्न र बुझ्न सकिएको छ भन्ने प्रश्नले सबैलाई पर्खिरहेको छ।
अस्मिताजस्ता उज्यालो भविष्य बोकेका युवाको निधनले कचनकवलले एउटा होनहार सन्तान गुमाएको छ। देवान परिवारलाई यस कठिन क्षणमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रगाढ समवेदना साथै यस घटनाले प्रत्येक परिवार, विद्यालय र समुदायलाई मानसिक स्वास्थ्यप्रति अझै सजग बन्न प्रेरणा देओस्-यही नै अस्मिताप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।




















