पथरिया । सामाजिक चेतना, युवा उत्थान र सामुदायिक सहयोगका निम्ति जीवनभर समर्पित स्वर्गीय लालध्वज लिम्बूको तेस्रो वार्षिक स्मृतिको अवसरमा बगान युथ क्लब, कचनकवलले यस वर्ष पनि भव्य, अनुशासित र उद्देश्यपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। सेमाङ्ग्ली क्याफे विर्तामोडको मुख्य प्रायोजनमा आयोजित गा.पा. स्तरीय अन्तर-मावि हाजिरीजवाफ प्रतियोगिता तथा न्यानो कपडा वितरण कार्यक्रम पथरिया माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता क्लबका अध्यक्ष पिताम्बर लिम्बूले गर्नु भएको थियो भने कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी प्रमुख अतिथि, उपाध्यक्ष नवराज भट्टराई विशिष्ट अतिथि, साथै अतिथि लेखनाथ खत्री, रञ्जित लिम्बू, चिन्तामणि खरेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशीले पानसमा बत्ती बालेर स्व. लालध्वज लिम्बूको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो-

“स्वर्गीय लालध्वज लिम्बूको जीवन स्वयंमा एउटा प्रेरणा हो। समुदायप्रति समर्पित व्यक्तिको स्मृतिमा ज्ञान, सेवा र सहानुभूति केन्द्रित कार्यक्रम गर्नु समाजलाई उचाइमा पुर्‍याउने अभियान हो।” उहाँले युवाहरूद्वारा सञ्चालित सामाजिक कार्यक्रमहरूको प्रभाव दीर्घकालीन परिवर्तनका लागि महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले युवा पुस्ताले समन्वय, पहल र सामाजिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँका शब्दमा-“आजको कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता मात्र होइन, सामाजिक उत्तरदायित्वबोध पनि जागृत गरेको छ। यस्ता आयोजनाले समुदायलाई सकारात्मक दिशातर्फ अघि बढाउँछ।”

अतिथि चिन्तामणि खरेलले स्व. लिम्बूको योगदानलाई स्मरण गर्दै उनका मूल्य, त्याग र सेवाभावलाई निरन्तरता दिन युवा पुस्तालाई आह्वान गर्नुभयो।

स्वागत मन्तव्य नारायण नेपालले राखेका थिए भने समग्र कार्यक्रमको कुशल सञ्चालन मनिष बरालले गरेका थिए।Screenshot_2025-11-19-18-48-14-325_com.whatsapp-edit

विद्यार्थीहरूको बौद्धिक विकास, नेतृत्व चेतना र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भयो। विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।

त्यसैगरी, जाडो मौसमलाई मध्यनजर गर्दै ४ वटा सामुदायिक विद्यालयका विद्यार्थी तथा स्थानीय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो। यस कार्यक्रमलाई स्थानीय बुद्धिजीवीहरूले समुदायमा सहकार्य, संवेदना र सकारात्मक संस्कारको विस्तार गर्न महत्वपूर्ण पहलका रूपमा व्याख्या गरेका छन्।

बौद्धिक चेतना, सामाजिक उत्तरदायित्व र सद्भावना-यी तीन आधारमा निर्मित स्व. लालध्वज लिम्बूको स्मृतिको यो कार्यक्रम कचनकवल समुदायका लागि प्रेरणादायी प्रतिमानका रूपमा स्थापित भएको छ।