कचनकवल । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको आयोजनामा तथा कचनकवल गाउँपालिकाको सहकार्यमा सञ्चालित “समुदाय विपद् स्वयंसेवक तालिम (Community Disaster Volunteer Training)” औपचारिक रूपमा उद्घाटन गरिएको छ।


उद्घाटन समारोहका प्रमुख अतिथि कालेन्द्र प्रसाद सिंह राजवँशीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा स्वागत मन्तव्य सशस्त्र प्रहरी उपरीक्षक गणपति तुल बहादुर भण्डारीले राखेका थिए भने नेपाल रेडक्रस सोसाइटी झापाका प्रमुख लोकराज ढकालले शुभकामना मन्तव्य व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष गोपाल कुमार अधिकारीले आफ्नो मन्तव्यमा समुदायस्तरमा विपद् सचेतना अभिवृद्धिका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको उल्लेख गरे। समापनमा प्रमुख अतिथिद्वारा पुनः शुभकामना व्यक्त गरिएको थियो।
कचनकवलमा सम्पन्न उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृतहरू, गाउँपालिका प्रतिनिधिहरू, नेपाल रेडक्रसका पदाधिकारी, प्रशिक्षकहरू र स्थानीय स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो।
तालिम जेठ ३० गतेदेखि असार १९ गतेसम्म सञ्चालन हुनेछ। तालिमको उद्देश्य समुदायमा विपद् व्यवस्थापनका विषयमा सचेत, सक्षम र व्यवहारिक रूपमा तयारी रहन सक्ने जनशक्ति तयार गर्नु हो।
सहभागीलाई विपद् न्यूनीकरण, उद्धार, राहत, प्राथमिक उपचार, आपतकालीन प्रतिक्रिया, समन्वय र सुरक्षा व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ।
सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूका अनुसार यस्ता तालिमहरू समुदायस्तरमा चेतना फैलाउने, विपद्को पूर्वतयारीमा सहयोग गर्ने र आपत्कालीन अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोगी हुने विश्वास गरिएको छ।