तीर्थराज सिग्देल ।।

एउटा यस्तो समय थियो, मानिसहरुसँग प्रशस्त जग्गा जमिन थियो तर त्यसको मालपोल लगायतका सरकारी कर तिर्ने पैसा हुँदैनथ्यो । यो त्यो समयको कथा हो, कथाजस्तै लाग्ने वास्तविकता हो । 


राष्ट्रिय सभा सांसद गोपालकुमार बस्नेतले २०६१ सालमा प्रकाशित गरेको ‘आफ्नै सेरोफेरो’ पुस्तकमा कालोकुत्ता मियाँ, धर्मे, छोटु र मथुरा सन्थाल जस्ता आदिवासीलाई तत्कालीन सत्ताले जालझेल गरी जमिनबाट बेदखल गरेको उल्लेख गरेका छन् । यसरी हेर्दा हाल विवादित गिरीबन्धु चिया बगान र बिर्तामोड आसपासका सयौं बिघा जमिनबाट धेरै आदिवासीलाई षड्यन्त्रपूर्वक ढंगले विस्थापित गरिएको पाईन्छ ।


२००० सालतिर झापामा सबैभन्दा ठूला र धनीमानी मानिस थिए– कालोकुत्ता मियाँ । अहिलेको अनारमनीको बुट्टाबारी, खोपबारीको सारा जमिन उनको आफ्नो नम्बरी जग्गा थियो । एउटै प्लट, झापाभर सबैभन्दा राम्रो मिलेको, सिँचाई सुविधा भएको साढे पाँच सय बिघा जग्गा उनैको थियो । डेढ सय घरभन्दा बढी उनका अँधियारहरू थिए । 


मालपोत तिर्न उनी पैसा बोरामा लिएर गाडीमा जान्थे र पाथीले पैसा भरेर मालपोत बुझाउँथे । तर, उनको यस्तो स्थिति सधैं रहेन । झापाका नयाँ हाकिमहरूका आँखामा उनी धेरै दिन रहन सकेनन् । कसैले कालोकुत्ता मियाँ डाँकासँग मिलेको र आफैं डकैतीमा संलग्न भएको भनी झोसपोल गरे । मुद्दा चलाईयो र उनको सारा जग्गा जमीन हडप गरियो । 


त्यसबेला माल अड्डाका सुब्बा भैरव प्रसाद आचार्यको सबैभन्दा बढी बोलवाला थियो । बिचरा कालोकुत्ता मियाँ जेल परे । शारीरिक पीडा र मानसिक ग्लानिले एक–डेढ वर्षभित्रमै उनी जेलमै बिते । उनको जग्गा जमिन मालपोत नतिरेको आधारमा भैरवप्रसाद आचार्यले लिए । पछि सो जग्गा शमशेर गिरीलाई र अरूहरूलाई बिक्री गरिदिए ।


अहिलेको गिरीबन्धु टी इस्टेट भएको सारा जमिन मथुरा सतार र छोटु सतारका नाममा थियो । यो सबै मौजाको जिमदार थिए धर्मे भन्ने सतार । मथुरा सतारको पनि सयौं बिघा जमिन थियो । कालोकुत्ता मियाँलाई झोसपोल गरी मुद्दा लगाई जेल हालेपछि मथुरा सतारलाई पनि पोलिएको छ भनी होहल्ला चलाइयो । यसरी मथुरा सतारलाई पनि भाग्न बाध्य गराइयो ।


मथुरा सतार, छोटु सतार, धर्मे सतारलाई डाँका मुद्दा लागेको छ भनी होहल्ला चलेपछि कालोकुत्ताको गति हुने डर देखाएर सुराकीमार्फत सुटुक्क भाग्न लगाइयो । बिचरा सतारहरू कतै न्याय पाउने ठाउँ पनि नदेखेपछि गाउँ नै छोडेर हिँडे । सबै सतारले डाँडा काटेपछि बाघे डाँगीबाट शमशेर गिरी, टेकबहादुर गिरी झिकाई सो जमिन भैरव प्रसादले गिरीहरूलाई बिक्री गरेका थिए ।


कालोकुत्तो मियाँ को हुन् ? र, उनका परिवार कहाँ छन् ? यसबारे जानकारी लिन आवश्यक देखिएको छ । कसैसँग थप जानकारी भए, सूचना दिन अनुरोध छ ।