झापा, फागुन २५ – राजवंशी भाषामा पहिलो होली गीत ‘आसिल फागुवा’ सार्वजनिक गरिएको छ। होली पर्वको अवसर पारेर बुधबार साँझ ५ बजे बलराम राजवंशीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

राजवंशी समुदायमा होली पर्वलाई ‘डोल’ वा ‘फागुवा’ भनिन्छ, जुन अन्य समुदायभन्दा भिन्न तरिकाले मनाइन्छ। समुदायको मौलिक संस्कृति झल्काउने उद्देश्यले तयार गरिएको यस गीतका लेखक गौरादह–८, भुडेसिमलका रूपक राजवंशी हुन्। उनी दमक–८ का ए वान कापी उद्योग एण्ड प्रिन्टिङ प्रेसका प्रोप्राइटर समेत हुन्।

रूपक राजवंशीले यसअघि पनि विभिन्न गीत लेखे पनि भिडियोसहित सार्वजनिक भएको यो पहिलो हो। उनी राजवंशी समाज विकास समितिका झापा जिल्ला सदस्य तथा राजवंशी उद्योग व्यवसाय विकास समितिका संस्थापक अध्यक्ष हुन्। यस गीतमा उनी शब्द/स्क्रिप्ट लेखक, निर्माता तथा कलाकारको भूमिकामा रहेका छन्।

गीतको संगीत संयोजन तथा एरेन्ज वरिष्ठ गायक बलराम राजवंशीले गरेका छन्। गीतमा बलराम राजवंशी, प्रमोद राजवंशी, र निकिता राजवंशीले स्वर दिएका छन्। कलाकारहरूमा सन्तोष राजवंशी, नेहा राजवंशी, हेम राजवंशी, भारतका प्रतिमा सिंह, रूपक राजवंशी, ममता राजवंशी रहेका छन्।

गीतको निर्देशन हेम राजवंशीले गरेका छन् भने सह–निर्देशक नारायण राजवंशी छन्। छायांकन साजर क्रिएसन/सेभेन स्टुडियोले गरेको हो। फेसन डिजाइनमा नमस्ते टेलरिङ्ग हाउस संलग्न रहेको छ।

गीतमा बाल कलाकार हेलेन राजवंशी, कमेडीमा लोकप्रसाद राजवंशी, शरद राजवंशी, चन्द्र राजवंशी लगायत ३० जना ब्याक डान्सर सहित ५० भन्दा बढी कलाकार सहभागी छन्।

राजवंशी समुदायको होली संस्कार समेट्दै गीतमा ‘ठाकुर देवतालाई पो (पुवा) चढाउने’, ‘फाग (अविर) चढाउने’, ‘बाँसका पिच्कारी खेल्ने’ जस्ता मौलिक संस्कारहरू देखाइएको छ। झापाको बाह्रदशी र कनकाई क्षेत्रमा छायांकन गरिएको यो गीत निर्माणमा देश–विदेशका विभिन्न राजवंशी संघ, संस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको फेसन डिजाइनर बैजन्तकुमार सिंह राजवंशीले जानकारी दिएका छन।