झापा, बाह्रदशी । लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गर्दै संस्थागत स्थायित्व र पारदर्शिताको दिशामा नयाँ पाना पल्टाएको छ। राजगढस्थित मुख्य कार्यालयमा मंगलबार सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभाको समापन सत्रले इन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
दुई कार्यकालसम्म सफलतापूर्वक संस्थाको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष प्रेमबहादुर घिमिरेले पद हस्तान्तरण गर्दै सह-अस्तित्व, उत्तरदायित्व र नेतृत्व विकासका लागि आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
नवगठित नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष प्रमिला राजवंशी, सचिव सोमनाथ वराल, कोषाध्यक्ष राधा राजवंशी रहेका छन् भने सदस्यहरूमा उषा कुमारी राजवंशी, सान्ति राजवंशी, राजेन्द्र प्रसाद भण्डारी, गायेत्री कुमारी साह र राजकुमार ढकाल रहेका छन्। लेखा समितिको संयोजकमा सुशीला राजवंशी रहनु भएको छ भने सदस्यहरूमा समिम अक्तर र टोपेन्द्र राजवंशी चयन भएका छन्।
अध्यक्ष इन्द्रप्रसाद राजवंशीले आफ्नो पहिलो सम्बोधनमा संस्था विधि, विधान र पारदर्शी वित्तीय प्रशासनका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारीलाई “सदस्यमैत्री र विकासमुखी” बनाउने दृष्टिकोण सार्वजनिक गरे।
संस्थाले हाल राजगढ, कचनकवल र झापा गरी तीन सेवाकेन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ। कृषि, साना व्यवसाय, दुईपाङ्ग्रे सवारी तथा शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको सहकारीले राजगढमा एक कट्ठा पैने छ धुर जग्गा खरिद गरी भवन निर्माण कोष स्थापना गरेको छ। साथै, कृषि आत्मनिर्भरता अभिवृद्धिका लागि ६ सय केजी बेसार बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ।
वर्तमानमा सहकारीमा १,८९० जना शेयर सदस्य रहेका छन्। संस्थाको चुक्ता शेयर पुँजी रु. १ करोड २६ लाख ४३ हजार ९ सय, कुल निक्षेप रु. ३ करोड ७८ लाख ७६ हजार ८९२ र कुल ऋण लगानी रु. ५ करोड ३ लाख ७ हजार १५५ रहेको सहकारीले चालु आर्थिक वर्षमा रु. १६ लाख ३० हजार १६९ नाफा आर्जन गरेको जनाएको छ।
साधारण सभाले अघिल्ला वर्षझैं यस वर्ष पनि उत्कृष्ट योगदानका लागि पाँच जना सदस्यहरू - पदमलाल राजवंशी, कृष्णप्रसाद राजवंशी, समिम अख्तर, श्रियान मेचे र नेमी गणेशलाई सम्मान गरेको छ।




















