सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार !


म २०५३ सालदेखि शिक्षण सेवामा संलग्न रहँदै आएको छु। हाल, म तपाईंको निर्वाचन क्षेत्रमा रहेको श्री नरेन्द्र जनता मावि, कमल-१, झापा को प्रधानाध्यापकको रूपमा कार्यरत छु। म स्वयं पनि यही विद्यालयको पूर्वविद्यार्थी भएको हुँदा यो जिम्मेवारी मेरा लागि गौरवको विषय हो।
हालसालै तपाईंले एसईई नतिजा र शिक्षकहरूको सेवा सुविधासँग तुलना गर्दै दिनुभएको अभिव्यक्तिले हामी उत्साहका साथ कार्य गरिरहेका शिक्षकहरूलाई निरुत्साहित बनाएको अनुभूति भएको छ। यसले विद्यालयको सिकाइ उपलब्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
आदरणीय प्रधानमन्त्रीज्यू,
म नेपाल सरकारले उपलब्ध गराएको तलब-भत्ता प्राप्त गर्ने शिक्षक भएकाले सरकारको नीति-निर्देशनबारे धेरै टिप्पणी गर्न चाहन्न। मेरो मुख्य कर्तव्य भनेकै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु हो। यसै सन्दर्भमा, यदि निम्न बुँदाहरूलाई सम्बोधन गर्दै आवश्यक व्यवस्थापन गरिदिनुहुन्छ भने, म विद्यालयको नतिजा १००% सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। यदि असफल भए, म खुशीसाथ शिक्षण सेवाबाट अलग हुनेछु।
१. बिपन्न विद्यार्थीका लागि भोजनको व्यवस्था :
-बिहान भोकै विद्यालय आउने विद्यार्थीहरूको लागि निःशुल्क खानाको व्यवस्था गर्न बजेट उपलब्ध गरियोस्।
२. अभिभावकलाई राहत दिने कार्यक्रम :
-विद्यालयका विभिन्न गतिविधिहरूमा सहभागी हुने अभिभावकलाई रोजगारीको कारण आर्थिक क्षति नहोस् भनेर हाजिरी राहत रकम को व्यवस्था गरियोस्।
३. विद्यालय पोसाक :
-विद्यालय पोसाक किन्न नसक्ने विद्यार्थीहरूका लागि निःशुल्क पोसाकको व्यवस्था गरियोस्।
४. शिक्षण वातावरण सुधार :
-बालमैत्री कक्षाकोठा, आवश्यक फर्निचर, शुद्ध खानेपानी, सफा शौचालय तथा खेलकुद सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइयोस्।
५. विद्यालय भवन र पूर्वाधार सुधार :
-अहिलेको पुरानो संरचनाका कक्षाकोठाहरू विस्थापित गरी आधुनिक भवन निर्माण गरियोस्।
-१५ रुपैयाँको खाजा सहित बसेर खाना खान सकिने चमेनागृह को स्थापना गरियोस्।
६. शिक्षकहरूको तालिम र प्रविधि सुधार :
-हरेक वर्ष विषयगत पुनर्ताजगी तालिम अनिवार्य गरियोस्।
-हरेक शिक्षकलाई एक ल्यापटप प्रदान गरियोस्।
-विद्यालयलाई पूर्णरूपमा प्रविधिमैत्री बनाइयोस्।
७. सामाजिक सञ्जालको मर्यादित प्रयोग :
-फेसबुक लगायतका सामाजिक सञ्जाल खोल्न अनिवार्य नागरिकता नम्बर आवश्यक पर्ने व्यवस्था गरियोस्, जसले गर्दा १६ वर्ष मुनिका बालबालिका अनावश्यक सामाजिक सञ्जालको प्रभावबाट जोगिन सकून्।
-शिक्षकहरूको विद्यालय समयमा (१०-४) सामाजिक सञ्जाल लक गरियोस्, अभिभावकहरूको लागि बेलुका (६-९) लक गरियोस्।
८. शिक्षा प्रणाली सुधार :
-गणित र विज्ञान जस्ता विषयलाई व्यवहारिक रूपमा परिवर्तन गरी कक्षा ८ बाट अनिवार्य तथा ऐच्छिक रूपमा अध्ययन गर्न मिल्ने व्यवस्था गरियोस्।
-प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्न पाठ्यक्रम सुधार गरियोस्।
९. शिक्षक कल्याणको व्यवस्था :
-शिक्षकहरूको लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरियोस्।
-शिक्षकका सन्तानको लागि छात्रवृत्तिको सुनिश्चितता गरियोस्।
१०. शिक्षक व्यवस्थापन सुधार :
-प्रत्येक ५-५ वर्षमा शिक्षकहरूको अनिवार्य काज सरुवा गर्ने व्यवस्था गरियोस्।
-एक विद्यालयमा १० वर्षभन्दा बढी प्रधानाध्यापक नरहने नीति लागू गरियोस्।
उपरोक्त सुधारका कार्यक्रमहरू लागू भएपछि पनि कुनै शिक्षकले आफ्नो विषयमा ८०% भन्दा कम नतिजा निकाल्ने हो भने, उनीहरूमाथि उचित कारबाहीको प्रावधान हुनुपर्छ। साथै, प्रधानाध्यापकको जिम्मेवारी पनि परिणामको आधारमा समीक्षा हुनुपर्छ।
म नेपाल सरकार तथा तपाईंको नेतृत्वमा सामुदायिक विद्यालय सुधारका लागि आशावादी छु। यदि यी सुधारहरू कार्यान्वयन भएमा, नेपालको शिक्षामा तपाईंको नाम स्वर्ण अक्षरमा लेखिनेछ।@ कार्कीको फेसबुकबाट ।
उहीँ, तपाईँको शुभेच्छुक,
बद्री कार्की
(प्रधानाध्यापक, श्री नरेन्द्र जनता मावि, कमल-१, झापा)