काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री दीपक खड्काको विरोध गरेको आरोपमा दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिमल गुरुङलाई पदमुक्त गर्न निर्देशन दिएको छ।


गुरुङले मन्त्रालय र मन्त्रीसम्बन्धी सामाजिक सञ्जालमा गैर-जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई पत्र काटेर उनलाई तत्काल हटाउन निर्देशन दिएको हो।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत गुरुङको विषयमा छलफल भइसकेको र उनलाई पदमुक्त गर्न निर्देशनसमेत दिइएको पत्रमा उल्लेख छ। तर, तोकिएको समयसम्म कारबाही नभएको भन्दै शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमार्फत २०८१ फागुन ८ गतेभित्र गुरुङलाई हटाएर मन्त्रालयलाई जानकारी गराउन भनिएको छ।
मन्त्रालयको यो निर्णयप्रति विभिन्न पक्षले चासो देखाएका छन्। सरकारी कर्मचारीको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै कतिपयले आलोचना गरिरहेका छन् भने कतिपयले सरकारी पदमा बसेर गैर-जिम्मेवार अभिव्यक्ति दिनु अनुचित भएको बताइरहेका छन्।