कुनै समय झापाको कर्णाली भनेर चिनिने नेपालकै होचो भूमि कचनकवल गाउँपालिका साविकको दक्षिणी गाविस बनियानी हाल कचनकवल वडा नम्बर ६ विशाल बस्तीमा जन्मिएका हिमाल सागरको माध्यमिक तहसम्मको शिक्षा नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालयबाट भएको थियो।फलामे ढोकाको रुपमा चिनिने एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि भने मेची क्याम्पस पढ्न गए।
हिमाललाई सानैदेखि गायनमा रूचि थियो। उनी स्कुल पढ्ने बेलामा उनको घरमा बत्ती समेत पुगेको थिएन। टिभी हुने कुरै भएन। घरमा एउटा रेडियो थियो। त्यही रेडियोमा बजेका आफूलाई मनपर्ने गीतका शब्द उनी कापीमा सार्थे। फेरि त्यो गीत बजेपछि सुन्दै गाउन सिक्थे।
'त्यो बेला अहिलेजस्तो संगीतसँग भिज्न र सिक्न त कहाँ पाउनु। न कुनै वाद्यवादन न संगीत पाठशाला। कसैको घरमा गितार हुनु त कति ठूलो कुरा हुन्थ्यो,' हिमालले भने, 'म रेडियोमै सुनेर गीत अभ्यास गर्थेँ।'
उनी आफूले सिकेका गीत गाएर छरछिमेक, साथीहरू र घर आएका पाहुनालाई सुनाउँथे। सबैले प्रशंसा गर्थे। उनको हौसला बढ्दै गयो। स्कुलका कार्यक्रमदेखि देउसीभैलोमा गाउने मौका पाउन थाले।
यसैगरी उनको गायन यात्रा कलेजसम्म पुग्यो। कलेजका कार्यक्रम र ब्यान्डहरूमा उनको स्वर गुन्जिन्थ्यो।
यति हुँदासम्म पनि उनले गायकै बन्छु होला भन्ने सोचेका थिएनन्।
'म गीत गाउँला, एल्बम निकालुँला भनेर काठमाडौं आएको थिइनँ। दिदीसँग टीका थाप्न आएका बेला त्यो संयोग जुर्यो,' उनले भने।
मानसले उनको रूचि बुझेरै गीतका शब्द सुनाएका थिए। हिमाल त्यसलाई कम्पोज गरेर आफ्नै तालमा गाउन थाले।
गीत राम्रै भयो। उनले रेकर्ड गराउन सकिन्छ कि भन्ने सोचे। त्यस बेला आफै लगानी गरेर गीत ल्याउने अवस्था थिएन। सबै काम कम्पनीहरूले गर्ने चलन थियो। अझ एल्बम निकाल्न कम्तीमा ८ वटा गीत हुनै पर्थ्यो। नभए कम्पनीले मान्दैन थियो। हिमाल सबै तयारी गरेर लगानी गर्ने कम्पनीको खोजीमा निस्किए।
'त्यस बेला कम्पनीले नयाँ कलाकारसँग काम गरेर जोखिम लिन चाहँदैन थिए। मेरो एल्बम धेरै कम्पनीबाट अस्वीकृत भयो। कसैले नपत्याएपछि म हार खाएर धौलागिरि क्यासेट सेन्टर पुगेँ,' उनले भने।
धौलागिरिसँग कुरा मिल्यो।
अनि केही महिनाको दौडधुपपछि उनको पहिलो एल्बम 'रिलेसन' सार्वजनिक भयो।
त्यसमा उनको संगीत र स्वरमा रहेको एउटा गीत थियो —
न मैले लेखेँ, न उनले लेखिन्
खोई कसले लेख्यो, आँसुसरी जिन्दगीको मेरो कथा...
यो २०६० साल असोजको कुरा हो।
प्रेममा व्यक्त गरिएको भावना समेटिएको यो गीतले सुरूआती दिनमा खासै चर्चा पाएन।
हिमालले चित्त बुझाए।
डेढ महिनापछि भने यो गीत टिभी र रेडियोमा गुञ्जिन थाल्यो। एफएम च्यानलहरूमा धेरै स्रोताले यो गीत 'फर्माइस' गर्न थाले।
त्यसपछि गीतको चर्चा ह्वात्तै बढ्यो। अनि सांगीतिक क्षेत्रमा नयाँ गायक जबर्जस्त उदाए — हिमाल सागर।
'एल्बम ल्याउनुअघि नै मैले मेरो थर गौतम नराखेर हिमालसँग सागर जोडेको थिएँ। त्यही नामबाटै सबैमाझ चिनिएँ,' उनले भने, 'त्यस बेला ५० हजार प्रति क्यासेट बिक्री हुँदा एल्बम सुपरहिट मानिन्थ्यो। मेरो डेढ लाख प्रति बिक्री भएको थियो।'
पहिलो गीत नै सुपरहिट भएपछि उनलाई स्टेज कार्यक्रमका लागि प्रस्ताव आउन थाल्यो।
२०६१ सालमा उनी पहिलोपटक स्टेज कार्यक्रमका लागि इनरूवा पुगे। उनले 'न मैले लेखेँ' नै गाए।
'त्यहाँ धेरै पटक गाउँदा पनि दर्शकले वान्स मोर भनिरहेको अझै याद छ,' हिमालले सम्झिए।
२०६२ सालमा उनले 'मेरो माया मारेपछि, तिमी त अचेल दामी भइछौ' बोलको गीत सार्वजनिक गरे। 'फर यू' एल्बममा समावेश यो गीत पनि हिट भयो। त्यसपछि 'त्यो दिन' एल्बममा समावेश 'मेरो मनमा आगो लाउनेको' गीत पनि निकै रूचाइयो। त्यसको केही वर्षपछि विदेशका कार्यक्रममा पनि उनको माग बढ्यो।
यसको केही वर्षपछि भने हिमाल सागर सांगीतिक क्षेत्रमा केही सुस्ताएको जस्तो देखियो। उनलाई धेरैले यसबारे सोधिरहे।
'मेरा गीत आइरहेका थिए। तर कतिपय अवस्थामा गीतले भ्युज पाइरहँदा पनि याद हुँदो रहेनछ। कुनै भने भ्युज कम हुँदा पनि याद हुँदाडपेका छन्। मेलोडी, एरेन्जमा केही परिवर्तन गरेका छन्।
'सबै पक्षबाट राम्रो काम गर्ने कोसिस गरेका छौं। माया पाउने आशा छ,' उनी भन्छन्।
उनले करिअर सुरू गर्दा र अहिले समयले कोल्टे फेरिसकेको छ। सांगीतिक क्षेत्रमा पनि धेरै परिवर्तन आएको छ। पहिलेभन्दा अहिले गीत ल्याउन धेरै सजिलो भएको अनुभव छ उनको। तर छिटो भाइरल हुने लोभले गीत दीर्घकालीन हुन्छ कि हुँदैन, इतिहासले कसरी सम्झिन्छ भन्नेमा ध्यान जान छाडेको उनलाई लाग्छ।
'गीतले राम्रो भ्युज पाए पनि केही समयमै स्रोता-दर्शकले बिर्सिसक्ने अवस्था छ। अहिले गीतको आयू पहिलेजस्तो छैन भन्ने लाग्छ,' उनले भने।
हिमालका थप सात-आठवटा गीत सार्वजनिक हुने तयारीमा छन्। स्टेज कार्यक्रमका लागि त उनको माग सदावहार नै छ। देश-विदेशमा थुप्रै कन्सर्ट गरिसकेका उनी प्रायः 'न मैले लेखेँ' बाटै गाउन सुरू गर्छन्।
अहिले कन्सर्टकै सिलसिलामा क्यानडा पुगेका उनले त्यहाँ पनि सुरूमै गाउनेछन् —
न मैले लेखेँ, न उनले लेखिन्
खोई कसले लेख्यो, आँसुसरी जिन्दगीको मेरो कथा...@ पत्रपत्रिकाबाट सहयोग