काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका विषयमा बोल्दै भारतले मात्र होइन, नेपालतर्फबाट पनि केही स्थानमा भारतको सीमा अतिक्रमण भएको तथ्य आफू प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका छन्।
आइतबार संघीय संसदमा सांसदहरूले उठाएका सीमा विवादसम्बन्धी जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दुई देशबीच सीमा सम्बन्धी जटिलता एकपक्षीय नभई पारस्परिक प्रकृतिको रहेको उल्लेख गरे।
“मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, नेपालले पनि भारतको सीमा मिचेको रहेछ,” प्रधानमन्त्री शाहले संसदमा भने।
उनले लामो समयदेखि विवादित रहँदै आएको लिम्पियाधुरा-लिपुलेक क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक पहललाई तीव्रता दिएको जानकारी दिए। यस सम्बन्धमा नेपाल सरकारले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट (डिप्लोमेटिक नोट) पठाइसकेको र त्यसको जवाफ समेत प्राप्त भइसकेको उनले बताए।
प्रधानमन्त्री शाहका अनुसार भारतको जवाफमा दुवै देशका इतिहासविद्, नापी विशेषज्ञ (सर्भेयर) तथा भूगोल र सीमा सम्बन्धी विज्ञहरूलाई समेटेर वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
उनले सीमा विवाद समाधानका लागि भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग समेत संवाद अघि बढाइएको जानकारी दिए। ब्रिटिस भारतको शासनकालबाट उत्पन्न भएका कतिपय सीमा सम्बन्धी जटिलताले आजसम्म प्रभाव पारिरहेको उल्लेख गर्दै उनले यस विषयमा बेलायतको पनि नैतिक र ऐतिहासिक जिम्मेवारी रहने धारणा व्यक्त गरे।
प्रधानमन्त्री शाहले सीमा विवादजस्ता संवेदनशील विषयहरू युद्ध वा तनावबाट नभई तथ्य, इतिहास, नापजाँच तथा कूटनीतिक संवादका माध्यमबाट समाधान गरिनुपर्नेमा जोड दिए। उनले नेपाल सरकारले राष्ट्रिय हितको संरक्षण गर्दै शान्तिपूर्ण र सम्मानजनक ढंगले सीमा समस्या समाधान गर्ने प्रयास जारी राखेको स्पष्ट पारे।




















