झापा, जेठ २० - जिल्ला प्रहरी कार्यालय झापाले दमकमा भएको चर्चित हत्या घटनाको अनुसन्धानबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भइरहेका अपुष्ट समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले प्रेस विज्ञप्ति जारी गर्दै दमक नगरपालिका-१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि दमक-८ निवासी २१ वर्षीय रमा तिवारीको हत्या भएको घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ। प्रहरीले अनुसन्धानको क्रममा रहेका तथ्य, प्रमाण तथा विवरणहरू आधिकारिक स्रोतबाट पुष्टि नभई अनुमान, अड्कलबाजी र अपुष्ट सूचनाका आधारमा सार्वजनिक गरिनु उचित नहुने जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान कार्य प्रचलित कानुनबमोजिम निष्पक्ष, तथ्यपरक र व्यावसायिक ढंगबाट अघि बढाइएको छ। अनुसन्धानका संवेदनशील पक्षहरू समयभन्दा अगावै सार्वजनिक हुँदा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पुग्नुका साथै न्याय सम्पादन प्रक्रियासमेत प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणलाई अनुसन्धानसँग सम्बन्धित विषयमा अपुष्ट, भ्रामक तथा अनुमानजन्य सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरिएको छ। आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी गरिने सूचनालाई मात्र आधार बनाउन प्रहरीको अनुरोध छ।

जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानको प्रगतिबारे कानुनले अनुमति दिएका विषयहरू उपयुक्त समयमा आधिकारिक रूपमा सार्वजनिक गरिने समेत स्पष्ट पारेको छ।

प्रहरीले तथ्यमा आधारित पत्रकारिता र जिम्मेवार सूचना सम्प्रेषणले अनुसन्धान तथा न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।