बनियानी, झापा । विश्व वातावरण दिवसको अवसर पारेर कचनकवल जेसिसले लक्ष्मी माध्यमिक विद्यालय बनियानीमा सुपारीका बिरुवा हस्तान्तरण गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरको हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेतलाई एक समारोहबीच सुपारीका बिरुवा हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गरिएका बिरुवा विद्यालयको खाली प्राङ्गणमा रोपिएको जेसिसले जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम खतिवडा,जेसिस अध्यक्ष गोपाल घिमिरे, महासचिव कुलचन्द्र अधिकारी, उपाध्यक्ष मनिष दाहाल, कार्यकारि उपाध्यक्ष आशिष वाग्ले, कानुनी सल्लाहकार नवराज ढुङ्गाना, सँस्थापक अध्यक्ष खगेन्द्र पाण्डे, कोषाध्यक्ष उषा लम्साल, जेसि रविन निरौला, सचिव दिनेश चौधरी, उपाध्यक्ष रमेश घिमिरे, सदस्य प्रदिप भट्टराई लगायत जेसिस पदाधिकारी, शिक्षक, विद्यार्थी तथा जेसिसका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वृक्षारोपणको महत्व, वातावरणीय सन्तुलन कायम गर्न युवाहरूको भूमिका तथा हरित अभियानको आवश्यकताबारे समेत चर्चा गरिएको थियो।

सो अवसरमा जेसिसका प्रतिनिधि जेसी खगेन्द्र पाण्डेले जेसिसको उद्देश्य, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा यसको भूमिकाबारे प्रकाश पार्दै युवाहरूलाई समाज रूपान्तरणका अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

वक्ताहरूले वातावरण संरक्षण केवल एक दिनको अभियान नभई भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्ने साझा दायित्व भएको उल्लेख गर्दै वृक्षारोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रमले विद्यालय परिसरलाई हरियाली बनाउनुका साथै विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।