बनियानी, झापा । वर्षायाम र गर्मीयामको सुरुवातसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका बेला कचनकवल गाउँपालिकाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्र, बनियानी दक्षिणी झापाका बासिन्दामात्र होइन, छिमेकी भारतका नागरिकका लागि समेत जीवनरक्षक स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
उपचार केन्द्रमा सोमबार एकैदिन भारतको सनामोनी निवासी आउली देवी राजवंशी र सिगिमारी निवासी मक्चा देवी राजवंशी सर्पदंशको उपचारका लागि भर्ना भई उपचाररत रहेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको उपचार केन्द्रले जनाएको छ।
सीमावर्ती क्षेत्रमा सर्पदंशका बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउँदै आएको यस केन्द्रले नेपाल-भारत सीमा क्षेत्रका सर्वसाधारणलाई ठूलो राहत प्रदान गरिरहेको स्थानीयवासीको भनाइ छ। उपचार केन्द्रमा उपलब्ध विशेषज्ञ सेवा, आवश्यक औषधि तथा सहज पहुँचका कारण भारतीय नागरिकसमेत उपचारका लागि यहाँ आउने गरेका छन्।
यसैबीच, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी उपचार केन्द्रमै पुगेर उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले स्वास्थ्यकर्मीहरूसँग उपचार सेवाको अवस्थाबारे जानकारी लिँदै सर्पदंशबाट प्रभावित नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको थियो।
स्थानीय तहको पहलमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सीमापारका नागरिकसमेतको ज्यान बचाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै यसलाई ग्रामीण स्वास्थ्य सेवाको सफल नमूनाका रूपमा हेरिएको छ। सर्पदंशका घटनाहरू बढ्ने मौसममा केन्द्रको सेवा अझ प्रभावकारी र नागरिकमुखी बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।




















