कचनकवल, झापा । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रेरणादायी अभ्यास प्रस्तुत गर्दै कचनकवल-६, बनियानी मुख्य बजारका युवा व्यवसायी तथा समाजसेवी निश्चल दाहालले इलाका प्रहरी कार्यालय बनियानीलाई विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेका छन्।
हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यवसाय सञ्चालन गर्दै आएका दाहालले आफ्नो र आफ्नो सन्तानको एकै दिन पर्ने जन्मदिनको अवसर पारेर करिब ६० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री प्रहरी कार्यालयलाई प्रदान गरेका हुन्।
दाहालले कार्यालयको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै एक थान वाटर प्युरिफायर, तीन थान सिलिङ फ्यान, एक थान टेबल फ्यान, एक थान वाल फ्यान तथा १० थान प्लास्टिक कुर्सी हस्तान्तरण गरेका छन्। विशेष कुरा, उनले आफ्ना सन्तानलाई साथमै लिएर प्रहरी कार्यालय पुग्दै सहयोग सामग्री इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक दिपेन्द्र गौतमलाई हस्तान्तरण गरेका छन्।
लामो समयदेखि सामाजिक उत्तरदायित्वलाई जीवनको अभिन्न अंग बनाउँदै आएका दाहालले नेपाल आउने प्रत्येक अवसरमा विभिन्न संघसंस्था, सामाजिक निकाय तथा समुदाय केन्द्रित कार्यक्रमहरूमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन्। यसपटक भने उनले नागरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको प्रहरी संगठनको कार्यसम्पादनमा सघाउ पुग्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेका हुन्।
सहयोग ग्रहण गर्दै प्रहरी नायव निरीक्षक गौतमले दाहालको योगदानप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले समुदाय र सुरक्षा निकायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
समाजमा बढ्दो व्यक्तिगत खर्च र औपचारिक उत्सवका बीच दाहालले आफ्नो सन्तानको जन्मदिनलाई सेवाभाव, उत्तरदायित्व र सामाजिक चेतनासँग जोडेर उदाहरणीय सन्देश दिएका छन्। यस्ता कार्यले समाजमा परोपकार, सहयोग र सामुदायिक सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




















