केचना । झापा जिल्लाको कचनकवल गाउँपालिकामा बालबालिकाको हक-अधिकार संरक्षण तथा बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरमै कानुनी सचेतना अभियानलाई तीव्र बनाइएको छ।

न्यायिक समिति कचनकवलको आयोजनामा सञ्चालन भइरहेको “विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम” अन्तर्गत सातौं दिन आज महेन्द्र रत्न माध्यमिक विद्यालय र उजाला एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य रहेको थियो। प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराई को कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरुलाई बालअधिकार, बाल संरक्षण, साइबर अपराध, यौन हिंसा, बालविवाह, लागूऔषध दुर्ब्यसन तथा बालबालिकाविरुद्ध हुने विभिन्न अपराधका विषयमा कानुनी जानकारी प्रदान गरेको थियो।

कार्यक्रममा विद्यालय तहदेखि नै कानुनी चेतना अभिवृद्धि गर्न सके बालमैत्री समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गरिएको थियो। कचनकवल गाउँपालिकाले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रममार्फत बालअधिकार संरक्षण, सामाजिक उत्तरदायित्व र सुरक्षित शैक्षिक वातावरण निर्माणतर्फ संस्थागत प्रयासलाई निरन्तरता दिएको जनाएको छ।