२०८१ असार १,झापा। कचनकवलको विगतलाई फर्किएर हेर्दा २०७८ असार ३ अघि प्रत्येक वर्ष कचनकवलका नागरिकले सर्पको टोकाइबाट अकाल मृत्युवरण गर्नुपरेको थियोे भने वर्षायामसँगै दक्षिणी भेग र छिमेकी भारतबाट सर्पदंशका बिरामीको सँख्या सर्पदँश उपचार केन्द्र चारालीमा ह्वात्तै बढ्ने गरेका थिए। समयमै उपचार केन्द्रमा पुग्न नपाउँदा सर्पले टोकेका दक्षिणी पालिका र भारतीय कतिपय बिरामीको मृत्यु समेत हुने गरेको थियोे।
सर्पददँश उपचार केन्द्र बनियानीमा आजका दिनसम्म आईपुग्दा ७४० बिरामीको सफल उपचार पश्चात् घर फर्किसकेका भएपनि सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण गर्छन् भन्ने वास्तविक तथ्यांक पाउन गार्ह्रो छ।
सर्पदँशमा परि सर्पदँश उपचार केन्द्र बनियानीमा आएका बिरामीहरुको अवस्था र पारिवारिक पृष्ठभूमिलाई अध्ययन गर्दा भारतबाट आएका बिरामीहरुमा ९९ प्रतिशत र नेपालबाट आएका बिरामीहरुमा ४० प्रतिशत अन्धविश्वास र चेतनाको कमी अझैसम्म कायम नै रहेको पाईन्छ।
नेपालमा पाईने बिषालु सर्प र प्रजातिहरु:
नेपालमा पाइने बिषालु सर्पहरुमा इलापिडे प्रजातिका (कोब्रा, करेत, क्रोअल) र भाइपरडे प्रजातिका पिट भाइपर, रुसेल्स भाइपर सर्प विषालु मानिन्छन्।इलापिडे प्रजातिको सर्पको टोकाइपछि शरीरको संवेदना दिने नशाहरुमा असर देखाउँछ भने भाइपरडे प्रजातिको सर्पको टोकाइपछि शरीरको रगत जम्ने क्षमतामा कमी भई आन्तरिक रक्तस्रावमा असर देखाउँछ।
सर्पदँश उपचार केन्द्र बनियानी सञ्चालनमा आउनुअघि दक्षिणी भेगका बिरामी उपचारका लागि ३४ किमि टाढा रहेको उपचार केन्द्र चाराली जानुपर्दा सर्पले टोकेपछि समयमा अस्पताल पुर्याउन नसक्दा धेरैजसो बिरामीको मृत्यु भएको देखिन्छ। यातायातको असुविधा,नजिक अस्पताल नहुनु,भए पनि सर्पको टोकाइको उपचार सबै ठाउँमा नहुनु आदि कुराले पनि मृत्यु हुनेको संख्या बढेको थियोे।साथै राजमार्गबाट धेरै टाढा बस्ती हुनु,एम्बुलेन्स भनेको बेला उपलब्ध नहुनु आदि कारणले पनि यो समस्या जटिल बन्दै गएको थियोे।
सर्पदँश उपचार केन्द्र चारालीले राजमार्ग नबन्दाको समयमा बिरामी ओसारपसार गर्न मोटरसाइकल स्वयंसेवक सेवा सञ्चालन गरिएको थियोे। यसले पनि धेरै हदसम्म अकालमा मृत्यु हुनेको संख्या घटाएको थियोे।
विगत र वर्तमानको अवस्थालाई नियाल्दा यातायात र राजमार्गको अवस्थामा सुधार आएपनि सबैभन्दा ठुलो अर्को समस्या भनेको सर्पको टोकाइ पश्चात् अन्धविश्वासको पछाडि लागेकाले बिरामीको ज्यान जोखिममा परेको पाइन्छ।
सर्पको टोकाईमा परेपछि बिरामीका आफन्त र छरछिमेकीले कुखुरालाई विष थुताउने,टोकेको ठाउँमा डोरीले कस्ने,हरियो खोर्सानी र कागतीको माला बनाएर बाँध्ने,चुनाको लेपन लगाउने,महिलाको केशले बाँध्ने,ब्लेड तथा धरिलो हतियारले काट्ने आदि चलनले पनि मृत्यु हुनेको संख्या बढाउनुको साथै जोखिम बढाएको छ।
कुखुरालाई विष थुताउँदा बिरामीको तत्काल मृत्यु हुने,टोकेको ठाउँमा डोरीले कस्दा रक्तसञ्चार राम्रोसँग हुन नपाएर टोकेको अंग नै मरेर कालो हुने अथवा काट्नुपर्नेसम्मको अवस्था आउन सक्छ। त्यस्तै ब्लेड तथा धारिलो हतियारले काट्दा टिटानस हुने खतरा हुन्छ।
सर्पले टोक्दा के गर्ने, के नगर्ने ?
– टोकेको ठाँउमा हलचल नहुनेगरी राख्ने
– जति सक्यो छिटो अस्पताल पुर्याउने
– मुखबाट केही नखाने
– नआत्तिने,बिरामीको मान्छेले बिरामीलाई सान्त्वना दिने
– टोकेको ठाँउमा डोरी वा अन्य कुनै पनि वस्तुले नबाँध्ने
– विष तान्न कुखुरा वा अन्य कुनै पनि प्राणीको प्रयोग नगर्ने
– कुनै पनि धारिलो हतियार प्रयोग गरी टोकेको ठाउँ काट्ने काम नगर्ने
सर्पको टोकाइबाट विष लागेका लक्षण :
– आँखा धमिलो हुनु
– आँखाको ढकनी तल लत्रिनु
– थुक निल्न गाह्रो हुनु
– श्वास लिन गाह्रो हुनु
– पेट दुख्नु
– उल्टी आउनु
– शरीरको कुनै पनि ठाउँबाट रक्तस्राव हुनु
कतिपय अवस्थामा सर्पको टोकाइमा परेको थाहा नपाउँदा एक्कासि अस्पतालको इमर्जेन्सीमा आउने बिरामीहरुले एक्कासि पेट दुख्यो वा एक्कासि ज्यान दुख्यो भनेर सिकायत गरेमा कतै सर्पले त टोकेन भनेर स्वास्थ्यकर्मीले सोच्नुपर्ने हुन्छ।प्राय: रातको समयमा करेत सर्पले टोक्ने गर्छ र मान्छेलाई थाहा नै हुँदैन। यस्ता बिरामी एक्कासि अस्पताल आउने गर्छन्।
सबै सर्प विषालु हुँदैनन् र विषालु सर्पले टोक्यो भन्दैमा विष लागिहाल्छ भन्ने पनि हुँदैन। विष लागेको यकिन भइसकेपश्चात् मात्र त्यसको विरुद्ध एन्टी स्नेक भेनम चलाइन्छ।उपयुक्त समयमा विष लागेको लक्षण पत्ता लगाउने,समयमै औषधि पाउने हो भने सर्पको टोकाइबाट हुने मृत्युबाट बच्न सकिन्छ।
सर्पको टोकाइबाट बच्न प्रयोग गरिने औषधि भारतबाट आउने र बेला बेलामा आपूर्ति अनियमित हुने हुँदा पनि यसप्रति सम्बन्धित निकायको चासो जानुपर्ने देखिन्छ साथै यो औषधि घोडाको शरीरबाट निकालिएको विभिन्न रसायनबाट बनाइने हुँदा भारतमा पशु अधिकारकर्मीहरुले जीवजन्तु मार्न पाइँदैन भनी आवाज उठाउँदै आएको पनि पाइन्छ। यसले गर्दा बेला बेलामा औषधि आपूर्तिमा असर पुग्छ। यसप्रति पनि नेपाल सरकारको ध्यान जानु जरुरी देखिन्छ।