बनियानी, झापा - कचनकवल गाउँपालिकाले स्थानीय शासन र वित्तीय व्यवस्थापनमा ऐतिहासिक फड्को मारेको छ। प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले नेतृत्व सम्हालेसँगै पालिकाले वित्तीय अनुशासन र सेवा प्रवाहमा नविन अभ्यास सुरु गर्दै झापामै पहिलो पटक स्थानीय तहबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था भोलिबाट लागू गर्ने भएको हो।

मिति २०८३ साल बैशाख १६ गतेदेखि गाउँ कार्यपालिकाको कार्यालयबाटै कर प्रशासनसम्बन्धी महत्वपूर्ण सेवाहरू उपलब्ध गराइने भएपछि सेवाग्राहीहरूलाई जिल्ला वा अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ। यस पहललाई स्थानीय तहमा वित्तीय सुशासन, पारदर्शिता र सेवा सहजताको दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

अब कचनकवलभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) गाउँपालिकाबाटै प्राप्त गर्न सक्नेछन् भने व्यवसाय तथा संघ-संस्थाहरूले व्यवसायिक PAN पनि यहीँबाट लिन सक्नेछन्। त्यस्तै, मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता, अन्तःशुल्क इजाजतपत्रको सिफारिस तथा नवीकरण, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने लगायतका सेवाहरू पनि स्थानीय तहबाटै सञ्चालन हुनेछन्।

यसबाहेक, करदाताको विवरण संशोधन, आवश्यक परे आन्तरिक राजस्व कार्यालयसँग समन्वय, तथा आयकर, VAT र अन्तःशुल्क सम्बन्धी कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरू समेत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। यसले करदातामा सचेतना वृद्धि गर्दै कर प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसअघि नै कचनकवल गाउँपालिकाले शिक्षकहरूको मासिक तलब सोझै बैंक खातामा भुक्तानी गर्ने प्रणाली लागू गरेर वित्तीय अनुशासनमा उदाहरणीय अभ्यास देखाइसकेको छ। अब आन्तरिक राजस्व सेवा समेत स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयले सुशासन र डिजिटल वित्तीय व्यवस्थापनतर्फ पालिकाको प्रतिबद्धता झन् स्पष्ट पारेको छ।

स्थानीय सरकारलाई सेवामुखी, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा कचनकवल गाउँपालिकाले चालिएको यो कदम झापाका अन्य स्थानीय तहका लागि समेत अनुकरणीय बन्ने देखिएको छ।