झापा, बनियानी - कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने उद्देश्यले त्रिपक्षीय साझेदारीमा सञ्चालित “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” प्रभावकारी रूपमा अघि बढिरहेको छ। कार्यक्रम अन्तर्गत अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले अपाङ्गता भएका बालबालिकाहरूलाई लक्षित गरी विभिन्न सहायक सामग्री वितरण गर्नु भएको छ।

कठिन अवस्थामारहेका बालबालिकाहरूलाई तत्काल आवश्यक पर्ने फस्ट एड किट, ह्वीलचेयर र डाइपर वितरण गरिएको छ। अध्यक्ष राजवंशीले आफ्नै हातबाट ह्वीलचेयर हस्तान्तरण गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यालय जाने अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री (कापी, किताब, झोला लगायत) समेत वितरण गरिने स्पष्ट पारेका छन्। यस पहलले शिक्षा पहुँच अभिवृद्धि गर्नुका साथै उनीहरूको आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रमले केवल सामग्री वितरणमा सीमित नरही घरमै पुगेर सेवा दिने अवधारणालाई पनि आत्मसात गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम सँयोजक नवराज भट्टराईका अनुसार, गाउँपालिकाका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर आवश्यक सहायक सामग्री प्रदान गर्ने कार्य निरन्तर भइरहेको छ। यसले सेवा पहुँचलाई समावेशी र प्रभावकारी बनाएको छ।

साथै, अभिभावक तथा परिवारका सदस्यहरूलाई आवश्यकताअनुसार फिजियोथेरापी सेवा सम्बन्धी जानकारी र व्यावहारिक अभ्याससमेत सिकाइएको छ। कार्यक्रमका क्रममा वितरण गरिएका सामग्रीहरूको अवस्थाबारे अनुगमन गर्नुका साथै लाभग्राहीहरूको दैनिक जीवनमा आएको परिवर्तन, समस्या तथा चुनौतीबारे विस्तृत छलफल समेत गरिएको थियो।

पालिका संयोजक अन्जना लामिछानेका अनुसार, कचनकवल गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि निरन्तर सहायक सामग्री उपलब्ध गराउने र शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम दीर्घकालीन रूपमा सञ्चालन भइरहेको बताउनुभयो।

अध्यक्ष राजवंशीले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहज जीवनयापनका लागि शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको समन्वित सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।