झापा, पथरिया-एचआईभी संक्रमित मुख्य जोखिम समूहप्रति समाजमा विद्यमान लान्छना तथा भेदभाव अन्त्य गर्ने उद्देश्यले स्वास्थ्य चौकी पथरियाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमले स्वास्थ्य, सुरक्षा, शिक्षा तथा समुदायबीच समन्वयात्मक संवादको आवश्यकता औंल्याउँदै एचआईभीप्रति वैज्ञानिक दृष्टिकोण विकास गर्न जोड दिएको थियो।
कार्यक्रममा प्रहरी चौकी पथरियाका इञ्चार्ज टँक राई, मोति माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि बस्नेत, स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव लगायतले एचआईभी संक्रमित व्यक्तिप्रति सम्मानजनक व्यवहार अपरिहार्य भएको धारणा व्यक्त गरे। विशेषतः जागेश्वर प्रसाद यादवले समाजले संक्रमित व्यक्तिलाई कुनै पनि प्रकारको भेदभाव गर्नु नहुने स्पष्ट पार्दै मानवअधिकारको दृष्टिकोणबाट समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बुध लाल राजवँशीले गर्दै सामाजिक विभेद हटाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे। साथै उनले पनि एचआईभी संक्रमितप्रति समाजले भेदभाव गर्नु नहुने धारणा व्यक्त गर्दै सहानुभूति, सम्मान र समावेशी व्यवहारको आवश्यकता औंल्याउनुभयो।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत बिरेन्द्र कुमार दासको सहजीकरणमा सञ्चालन भएको उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवक, स्थानीय युवा तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। साथै वडा खोप समन्वय समितिका जय नारायण यादव र स्वास्थ्य चौकी इञ्चार्ज बिष्णु कुमारी भट्टराईको पनि सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन घनश्याम यादवले गरेका थिए। अभिमुखीकरण कार्यक्रमले एचआईभीसम्बन्धी गलत धारणा चिर्दै समुदायमा समानता, सहअस्तित्व र मानवअधिकारको संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गरेको आयोजक स्वास्थ्य कार्यालय,झापाले जनाएको छ।




















