झापा जिल्ला अदालतले सार्वजनिक विदा तथा कार्यालय समयबाहेकका अवस्थामा पनि अत्यावश्यक न्यायिक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले अदालत खुला रहने व्यवस्था लागू गरेको छ।
प्रशासन शाखाबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा २० अन्तर्गत पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र न्यायिक अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने संवैधानिक बाध्यता तथा हिरासतसम्बन्धी आदेशको निरन्तरता सुनिश्चित गर्न यो निर्णय गरिएको हो। विशेषगरी शनिबार र आइतबारसहित दुई दिनभन्दा बढी सार्वजनिक विदा परेको अवस्थामा पनि न्यायिक प्रक्रिया प्रभावित नहुने गरी व्यवस्था मिलाइएको अदालतले जनाएको छ।
उक्त व्यवस्था अनुसार दुई दिनभन्दा बढी सार्वजनिक विदा परेमा, त्यसअघि पर्ने दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अदालत खुला रहनेछ। यस अवधिमा पक्राउ पुर्जी स्वीकृति, थुनुवा अनुमतिलगायत अत्यावश्यक प्रकृतिका मुद्दामा सुनुवाइ हुने व्यवस्था गरिएको छ।
अदालतको पूर्ण बैठकको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित नियमावली संशोधनअनुसार कार्यान्वयनमा ल्याइएको यस व्यवस्थाले न्यायमा नागरिकको पहुँच अझ सुदृढ हुने अपेक्षा गरिएको छ।





















