झापा-कोशी प्रदेशमा यस वर्षकै सबैभन्दा ठूलो परिमाणमा लागू औषध बरामद भएको घटनामा झापाबाट दुई युवक पक्राउ परेका छन्। बैशाख ४ गते अन्दाजी ११:३० बजे कनकाई नगरपालिका-५ तल्लो चप्रामारी क्षेत्रमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन सञ्चालन गरेको थियो।
प्रहरीले झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको BR 37R 1866 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा, सवार व्यक्तिहरूले बोकेको हाते झोलाभित्र खाना राख्ने भाँडामा लुकाइ छिपाइ ल्याइएको ६ पोका लागू औषध बरामद गरिएको हो। बरामद पदार्थ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो स्वरूपको रहेको छ, जसको तौल ५६३ ग्राम ६२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा झापा गाउँपालिका-६ का २२ वर्षीय साफिक उलमिया र भारतको डिगलबैंक थाना-१ बस्ने २२ वर्षीय निसार आलमलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट तीन थान VIVO मोबाइलसमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट लागू औषध ओसारपसारमा संगठित संलग्नताको आशंका गरिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो घटनाले सीमावर्ती क्षेत्रमा लागू औषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ भने सुरक्षा निकायले निगरानी र कारबाही थप कडा बनाउनुपर्ने देखिएको छ।




















