झापा, बनियानी - बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै कचनकवल गाउँपालिकाले “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरेको छ। स्वास्थ्य शाखाद्वारा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवंशी तथा उपाध्यक्ष नवराज भट्टराईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले स्वागत मन्तव्य राख्दै खोप कार्यक्रमलाई समुदायस्तरमा प्रभावकारी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, खोप अधिकृत राजकुमार पोख्रेलले खोपको वैज्ञानिक तथा सामाजिक महत्वमाथि प्रकाश पार्दै यस अभियानले दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने बताउनुभयो। प्राविधिक सत्र खोप फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले सञ्चालन गरेका थिए।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्षले “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्य कार्यक्रम होइन, यो हाम्रो भावी पुस्ताप्रतिको जिम्मेवारी हो। कचनकवलका प्रत्येक बालबालिकालाई खोपको पहुँचमा ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो, र हामीले त्यसलाई व्यवहारमा उतारेका छौं। आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न निरन्तर अनुगमन र समुदायसँग सहकार्यलाई अझ सुदृढ बनाइनेछ”बताउनुभयो।

खोप अधिकृत राजकुमार पोख्रेलले “खोप कार्यक्रमले बालमृत्यु दर न्यूनीकरण, रोगको जोखिम घटाउने तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। कचनकवलमा पूर्ण खोप सुनिश्चितता हासिल हुनु भनेको केवल लक्ष्य पूरा गर्नु होइन, स्वास्थ्यप्रति समुदायको चेतना र सहभागिता पनि उच्च स्तरमा पुगेको संकेत हो।”

पूर्ण खोप निर्देशिका २०७९ (संशोधनसहित) अनुरूप आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै आर्थिक वर्ष २०८२/८३ भित्र गाउँपालिकाका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई अनिवार्य खोप प्रदान गरिएको सुनिश्चित गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

सो अवसरमा स्वास्थ्य क्षेत्रमा समर्पित कर्मचारीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो, जसले कार्यक्रमप्रतिको प्रतिबद्धता र योगदानलाई थप प्रेरित गरेको छ।

गाउँपालिकाको खोप समन्वय समितिले जनप्रतिनिधि, स्वास्थ्य संस्था, सञ्चारकर्मी तथा समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै कार्यक्रमलाई दीगो, प्रभावकारी र समावेशी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

यस घोषणासँगै कचनकवल गाउँपालिका बालस्वास्थ्य सुरक्षाको क्षेत्रमा एक नमुना स्थानीय तहका रूपमा स्थापित भएको छ, जसले स्वस्थ, सुरक्षित र समृद्ध समाज निर्माणतर्फ महत्वपूर्ण आधार तयार गरेको विश्वास लिइएको छ।