झापा । भन्सार सुविधा विनै सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि जिल्ला प्रहरी झापाले कडाइ गरेको छ। गृह मन्त्रालयले प्रहरी कार्यालयलाई सर्कुलर जारी गर्दै यस्ता अवैध सवारीसाधन तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको हो।
उक्त निर्देशनसँगै नेपाल प्रहरीले सक्रिय रूपमा परिचालन भई विभिन्न स्थानमा अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। भन्सार सुविधा नलिई सञ्चालनमा रहेका सवारीसाधनले सुरक्षा जोखिम बढाउने, आपराधिक गतिविधिमा सहजता प्रदान गर्ने तथा राज्यको राजस्व प्रणालीमा असर पार्ने सम्भावना देखिएकाले यस्तो कदम चालिएको भनाइ छ।
सरकारको यस निर्णयले सीमावर्ती क्षेत्रमा अवैध सवारी आवागमनलाई नियन्त्रण गर्ने, कानुनी शासनको प्रत्याभूति दिलाउने तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, सम्बन्धित निकायहरूले यस्ता सवारी प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।




















