कचनकवल। सँघीय सरकार सँस्कृति तथा पर्यटन मन्त्रालयको सडक कालोपत्रे योजना "कचनकवल टुरिजम डेभलपमेन्ट मल्टी ईयर प्रोजेक्ट" अन्तर्गत १.९ किमि सडक कालोपत्रेको कामले तीब्रता लिएको छ ।
कचनकवल गाउँपालिका भित्र १.९ किलोमिटर सडक कालोपत्रेको ठेक्का पाएको निर्माण कम्पनी सतासी-पुर्वाञ्चल जे.भी.ले पहिलो खण्डको काम थालेको छ।उक्त निर्माण कम्पनीले नेत्र मार्ग अन्तर्गतपर्ने कचनकवल-२ पथरिया स्थित पुरानो बजारबाट कचनकवल-३ नयाँ बजार स्थित पथरिया स्कुल अगाडि सम्मको ८५२ मिटर सडकको कालोपत्रे गर्ने काम सम्पन्नको चरणमा पुगेको छ ।
ज्योति ईटा भट्टा देखि कचनकवल रिङरोड जोड्ने ११०० मिटरको कालोपत्रे सडक , दल्लेगाउँदेखि कचनकवल रिङरोड जोड्ने कल्भर्ट निर्माण ,खुमरु भिट्टादेखि कचनकवल मार्ग जोड्ने कल्भर्ट निर्माण , प्रगति चौक(कटुवाल चौक) देखि प्रकाश खनालको घरसम्मको १४०० मिटर सडक स्तरोन्नति , अमलखुट्टा पुलदेखि पोकलवानहुदै ग्रामडिगीसम्मको ४ किमी सडक स्तरोन्नतिको ठेक्का यसै निर्माण कम्पनीले पाएको छ ।
निर्माण ब्यवसायीले आफ्नो ठेक्काको काम शुरुआत गरेसँगै सरोकारवाला निकायका जनप्रतिनिधि उपाध्यक्ष नवराज भट्टराई ,वडाध्यक्ष लेखनाथ खत्री,ग्यास अजमल मियाँ र स्थानीय सरकारका ईञ्जिनियर चिरायु श्रेष्ठ ,साजन राई र योजना अधिकृत केशव मैनाली सहितको टोली फिल्डमा प्रत्यक्ष निगरानीमा खटिएकाछन् ।
कचनकवल भित्र विकास निर्माणको काममा स्थानीय सरकारले प्रत्यक्ष निगरानीमा राखेर निर्माण कम्पनीलाई सहजीकरण गर्न थालेपछि गुणस्तरमा कुनै सम्झौता नहुनुका साथै निर्माण ब्यवसायीले सम्झौता अनुरुपको कामलाई तीब्र गतिमा अगाडि बढाउने विश्वास समाजसेवी जय नारायण यादवको रहेको छ।