काठमाडौँ - विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणाली IEMIS मा स्थायी शिक्षकसँगै अस्थायी करार, राहत, सङ्घीय अनुदान, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको नामसमेत ‘प्रोत्साहन भत्ता’ सम्बन्धी Tab मा देखिन थालेपछि सबैले अब प्रोत्साहन भत्ता पाउने हुन् कि भन्ने प्रश्न उठेको छ।
तर, IEMIS मा नाम समावेश हुनु मात्रै प्रोत्साहन भत्ता पाउने आधार भने होइन।
केही दिनयता उक्त Tab मा स्थायी शिक्षकबाहेक अन्य शिक्षक तथा विद्यालय कर्मचारीको नामसमेत समावेश गरिएको देखिएको छ। यसअघि सो प्रणालीमा मुख्यतः स्थायी शिक्षकको नाम मात्र देखाइने गरिएको थियो।
स्थानीय तहले आफ्नै स्रोतबाट व्यवस्थापन गरेका शिक्षक तथा कर्मचारीलाई स्थानीय स्रोतबाटै प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने व्यवस्थाका लागि विभिन्न स्थानीय तहबाट अनुरोध आएपछि प्रणालीमा यस्तो सुविधा थप गरिएको बताइएको छ।
महत्त्वपूर्ण कुरा के हो भने ‘By Federal’ अन्तर्गत प्रोत्साहन भत्ताको रकम देखिँदैन। स्थानीय तहले आफ्नै स्रोतबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेमा IEMIS मा ‘Provided by LG’ अर्थात् स्थानीय तहबाट प्रदान गरिएको भन्ने विकल्पमा ‘Yes’ चयन गरी स्थानीय तहले उपलब्ध गराउने रकम प्रविष्ट गरेर Save गर्नुपर्ने हुन्छ।
यसले एउटा कुरा स्पष्ट गर्छ-IEMIS मा नाम देखिनु अधिकार सुनिश्चित भएको प्रमाण होइन; भत्ता उपलब्ध हुने–नहुने विषय सम्बन्धित स्थानीय तहको निर्णय र स्रोत व्यवस्थापनमा निर्भर हुनेछ।
अर्थात्, Tab मा नाम थपिनुलाई तत्कालै ‘सबैका लागि प्रोत्साहन भत्ता’ को घोषणा भनेर बुझ्नु उपयुक्त देखिँदैन। प्रणालीले स्थानीय तहलाई आफ्नो स्रोतबाट भत्ता व्यवस्थापन गर्न सक्ने आधार तयार गरेको हो।
त्यसैले अबको प्रश्न ‘IEMIS मा नाम छ कि छैन ?’ भन्दा पनि ‘सम्बन्धित स्थानीय तहले आफ्नै स्रोतबाट प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ कि छैन ?’ भन्नेमा केन्द्रित हुने देखिन्छ।




















