बनियानी। कचनकवल गाउँपालिका-६ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत ९ वर्षीय छात्रा पुष्पा माझीको उपचारका क्रममा भएको असामयिक निधनले विद्यालय परिवार शोकमा डुबेको छ।

विद्यालयको कक्षा ४ मा अध्ययनरत पुष्पाको हिजो विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कलिलो उमेरमै जीवन गुमाएकी पुष्पाको निधनले परिवारमा मात्र नभई उनका सहपाठी, शिक्षक तथा समग्र विद्यालय समुदायमा गहिरो पीडा र स्तब्धता छाएको छ।

पुष्पाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालयले शोक पुस्तिका पारित गरेको छ। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै आज एक दिनका लागि विद्यालयमा शोक विदा घोषणा गरिएको विद्यालयले जनाएको छ।

सानो उमेरमै विद्यालयको आँगन, कक्षाकोठा र साथीहरूको बीचबाट सदाका लागि बिदा भएकी पुष्पाको निधनले एउटा परिवारको खुसी मात्र खोसेको छैन, विद्यालयको भविष्यका सपनासँग जोडिएको एउटा निर्दोष सम्भावनालाई समेत असामयिक रूपमा अन्त्य गरिदिएको छ।

विद्यालय परिवारले दिवंगत छात्रा पुष्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।CamScanner 21-08-2026 11.45 पुष्पाको स्मृतिमा आज लक्ष्मी माविको कक्षाकोठा मौन छ-तर उनको सम्झना भने उनका शिक्षक, साथी र विद्यालय समुदायको मनमा लामो समयसम्म जीवित रहनेछ।