बनियानी । कचनकवल-५ दल्लेगाउँबाट आमालाई आकस्मिक उपचारका लागि आइतबार राति करिब ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बनियानी पुर्याएका सन्तोष गणेशले ड्युटीमा रहेका स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको आरोप लगाउँदै गाउँपालिका तथा सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेका छन्। सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै ‘चोर’को संज्ञासहित सामग्री सार्वजनिक भएपछि घटनाको अर्को पाटोबारे हामीले पनि जानकारी लिइएका थियौं।
अस्पताल पक्षका अनुसार गणेशकी आमालाई आईतवार बिहान करिब १२ बजे बारुलाले टोकेको थियो। राति ८ बजे अस्पताल ल्याइएपछि उपचार तत्कालै सुरु गरिएको र बिरामीको अवस्था सामान्यतर्फ फर्किएको थियो। उपचारपछि अनियन्त्रित रुपमा अस्पताल प्रवेश गरेर गणेशले आफू सरकारी कर्मचारी भएको भन्दै मोबाइलबाट स्वास्थ्यकर्मीको भिडियो खिच्न थालेपछि अस्पतालका सुरक्षागार्डले रोक्न खोजेको र त्यस क्रममा विवादको अवस्था सिर्जना भएको अस्पताल पक्षको दाबी छ।
भोलिपल्ट गणेशले गाउँपालिकामा दिएको निवेदनका आधारमा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताइएको छ। अस्पताल प्रशासन प्रमुख डा. दिपेन राजवंशीसँग घटनासम्बन्धी जानकारी लिएपछि गणेशसँग प्रतिक्रिया लिन खोज्दा भने गणेशले सार्वजनिक सरोकारको विषयमा सोधिएको प्रश्नको प्रत्यक्ष जवाफ दिनुको सट्टा आक्रोशपूर्ण अभिव्यक्ति दिएको देखिएको छ। लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय, सुकुनाडिगीको गेटबाहिर बिब्यस सदस्यसमेत उपस्थित रहेको स्थानमा गणेशले गाउँपालिकाबाट न्याय नपाए माथिल्लो निकायसम्म जाने चेतावनी दिएकाछन्।
यहाँ अर्को महत्वपूर्ण प्रश्न पनि उठ्छ-लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय, सुकुनाडिगीमा विद्यालय कर्मचारीका रूपमा कार्यरत गणेशलाई स्थानीय सरकारले नै मासिक तलब-सुविधा भुक्तानी गर्दै आएको अवस्थामा, सार्वजनिक सेवा प्रवाह हुने संवेदनशील स्वास्थ्य संस्थामा उनले अभद्र व्यवहार गरेको आरोप प्रमाणित भए स्थानीय सरकारले कस्तो कारबाही गर्छ ?
सरकारी सेवा-सुविधा लिने व्यक्ति आफैंले सार्वजनिक संस्थाको मर्यादा, कर्मचारीको सम्मान र सेवा प्रवाहको संवेदनशीलतालाई बेवास्ता गरेको प्रमाणित भए त्यसलाई सामान्य व्यक्तिगत विवादका रूपमा मात्र हेर्न मिल्छ कि कर्मचारी आचारसंहिता तथा प्रचलित कानुनअनुसार जिम्मेवारी निर्धारण गर्नुपर्छ ? यो प्रश्नको जवाफ सम्बन्धित स्थानीय सरकार र जिम्मेवार निकायले दिनुपर्ने देखिन्छ।
तर, यही मापदण्ड स्वास्थ्यकर्मीका हकमा पनि समान रूपमा लागू हुनुपर्छ। स्वास्थ्यकर्मीले सेवाग्राहीसँग अभद्र व्यवहार गरेको प्रमाणित भए उनीहरूमाथि पनि संस्थागत तथा कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्छ। आरोप कसैमाथि लाग्दैमा दोषी ठहरिने होइन; प्रमाणित भएपछि मात्र जिम्मेवारी निर्धारण हुने हो।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा २४ घण्टा सेवा दिइरहेका कर्मचारीको कार्यस्थलमा अनुमति र मर्यादाको सीमा नाघेर भिडियो खिच्ने, विवाद सिर्जना गर्ने वा मनोबल गिराउने गतिविधि स्वीकार्य हुनु हुँदैन। त्यस्तै, स्वास्थ्यकर्मीले पनि सेवाग्राहीप्रति संयमित, सम्मानजनक र व्यावसायिक व्यवहार गर्नैपर्छ।
अब मुख्य प्रश्न दुईतर्फी छ-गणेशले स्वास्थ्यकर्मीमाथि लगाएको आरोप सत्य हो भने स्वास्थ्यकर्मीमाथि कस्तो कारबाही हुन्छ ? र अस्पताल परिसरमा अभद्र व्यवहार गरेको आरोप गणेशमाथि प्रमाणित भए स्थानीय सरकारले उनलाई कस्तो जिम्मेवारीबोध गराउँछ ? निष्पक्ष छानबिनपछि यी दुवै प्रश्नको जवाफ आउनुपर्छ।
आधारभूत अस्पताल बनियानीमा आकस्मिक, सर्पदंश तथा बर्थिङ सेवा २४ सै घण्टा सञ्चालनमा छन्। यस्तो संवेदनशील सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई अपमान होइन, सुरक्षित र सम्मानजनक कार्य वातावरण आवश्यक छ। अस्पताल व्यवस्थापन समिति र प्रशासनले पनि अनधिकृत रूपमा अस्पताल प्रवेश गर्ने, स्वास्थ्यकर्मीलाई धम्क्याउने वा सेवा प्रवाहमा अवरोध पुर्याउने जोसुकैलाई कानुनी प्रक्रियामा ल्याउने स्पष्ट व्यवस्था गर्नुपर्छ।
अन्ततः आरोपको फैसला सामाजिक सञ्जालको भीडले होइन, प्रमाण र निष्पक्ष छानबिनले गर्नुपर्छ। सरकारी तलब-सुविधा लिने कर्मचारी होस् वा सरकारी स्वास्थ्य संस्थामा सेवा दिने स्वास्थ्यकर्मी-व्यावसायिक मर्यादा सबैका लागि समान हुनुपर्छ। मर्यादा उल्लङ्घन प्रमाणित भए पद, पहुँच वा सामाजिक प्रभाव हेरेर होइन, प्रमाण र कानुनका आधारमा कारबाही हुने वातावरण निर्माण गर्नु नै सुशासनको वास्तविक परीक्षा हो।




















