बनियानी। कचनकवल गाउँपालिकाले निर्माण सम्पन्न गएसँगै आधारभूत स्वास्थ्य अस्पताल औपचारिक रूपमा उद्घाटन गरेको छ। अस्पताल उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको बताए। उनीहरूले आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनसँगै स्थानीय नागरिकले गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र प्राप्त गर्ने विश्वास व्यक्त गरे।
भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेनजी आन्दोलनका क्रममा भएको लुटपाट र आगजनीबाट गाउँपालिकाको प्रशासनिक भवन ध्वस्त भएपछि कचनकवल गाउँपालिकाले कठिन परिस्थितिमा पनि सेवा प्रवाह रोकिएन। त्यसयता निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पतालबाट अस्थायी रूपमा प्रशासनिक तथा नागरिक सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले संकटलाई अवसरमा रूपान्तरण गर्दै स्वास्थ्य पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको हो।
नेपालको संघीय शासन प्रणालीअनुसार आधारभूत स्वास्थ्य अस्पताल स्थानीय सरकारको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने महत्वपूर्ण संरचना हो। यस्ता अस्पतालले प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, सुरक्षित प्रसूति, आकस्मिक उपचार, प्रयोगशाला सेवा, खोप, नसर्ने तथा सरुवा रोगको रोकथाम, स्वास्थ्य परामर्श लगायतका अत्यावश्यक सेवा स्थानीय तहमै उपलब्ध गराउँछन्। यसले जिल्ला वा प्रदेश अस्पतालमा पर्ने अनावश्यक चाप घटाउनुका साथै समयमै उपचार पाउने नागरिकको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
कचनकवल गाउँपालिकाले स्वास्थ्यलाई विकासको प्रमुख आधार मानेर अस्पताल निर्माण, स्वास्थ्यकर्मी व्यवस्थापन, उपकरण उपलब्धता र सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। गाउँपालिकाको यो पहलले स्थानीय नागरिकको उपचार खर्च, समय र दूरी घटाउने मात्र होइन, समग्र जनस्वास्थ्य सूचक सुधार गर्न समेत दीर्घकालीन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको प्रभावकारिता नागरिकले पाउने सेवाबाट मापन गरिन्छ। त्यस अर्थमा आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटन केवल एउटा भवन सञ्चालनको औपचारिकता नभई कचनकवलवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धताको सशक्त अभिव्यक्ति हो। विपत्तिपछिको पुनर्निर्माण, सेवाप्रतिको निरन्तरता र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले कचनकवल गाउँपालिकाले स्थानीय सरकारको उत्तरदायित्वलाई व्यवहारमै प्रमाणित गरेको सन्देश दिएको छ।




















