बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारका लागि महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। “स्वस्थ जीवनको एक चाल, कचनकवल आधारभूत अस्पताल” भन्ने नारालाई आत्मसात गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रु १ करोड बजेट विनियोजन गरेको जनाएको छ।

उक्त बजेटबाट स्वास्थ्य शिविर सञ्चालन, प्रविधियुक्त विद्यालय नर्स कार्यक्रम, गम्भीर रोगीलाई नियमित उपचार सहायता, स्वास्थ्य जनचेतना अभियान तथा आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसले गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

स्वास्थ्य पूर्वाधार सुदृढीकरणतर्फ पनि गाउँपालिकाले विशेष जोड दिएको छ। लामो समयदेखि प्रतिक्षित १५ शैयाको आधारभूत अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यसहित थप रु १ करोड बजेटको व्यवस्था गरिएको छ। अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बाहिरी क्षेत्र धाउनुपर्ने बाध्यता कम हुने र स्थानीय नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

यसैगरी, समुदायस्तरमा स्वास्थ्य सेवाको महत्वपूर्ण आधार मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको सम्मान गर्दै अवकाशपछि प्रदान गरिने प्रोत्साहन रकम रु ५० हजारबाट बढाएर रु ७५ हजार पुर्‍याइएको छ। यस निर्णयलाई स्वयंसेविकाको समर्पण, सेवा र योगदानप्रतिको संस्थागत सम्मानका रूपमा हेरिएको छ।

स्वास्थ्य पूर्वाधार, उपचार पहुँच, जनचेतना र स्वास्थ्यकर्मीको मनोबललाई एकसाथ सम्बोधन गर्ने गाउँपालिकाको यो बजेटले कचनकवललाई स्वास्थ्यमैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्ने संकेत दिएको छ। स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई नागरिकको जीवनस्तर सुधार र सामाजिक समृद्धिको दीर्घकालीन आधारका रूपमा समेत हेरिएको छ।