राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल, सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार इटहरीमा सम्पन्न भएको छ। फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा जिल्लाको कला, संस्कृति, पर्यटन र ऐतिहासिक सम्पदाको दृश्यात्मक अभिलेखीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहित नयाँ नेतृत्वले तीनवर्षे कार्यकालको जिम्मेवारी ग्रहण गरेको हो।

इटहरीस्थित युवा विकास केन्द्रमा आयोजित समारोहमा गुरु ढकालको अध्यक्षतामा सर्वसम्मत चयन भएको कार्यसमितिको पदस्थापन गरिएको थियो। संस्थाका कानुनी सल्लाहकार तथा निर्वाचन समितिका संयोजक विकल रेग्मीको अध्यक्षता र कोशी प्रदेशका प्रेस रजिस्ट्रार एवं कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका प्रमुख लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भट्टराईले क्यामेराको बटन क्लिक गरेर गर्नुभएको थियो। त्यसपछि निर्वाचन समितिका संयोजक रेग्मीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो। समारोहमा नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै रुद्राक्ष र अबिर लगाएर सम्मान गरिएको थियो।

निर्वाचन समितिको घोषणा अनुसार आगामी तीन वर्षका लागि अध्यक्षमा गुरु ढकाल, उपाध्यक्षमा खेमराज श्रेष्ठ, सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठ चयन हुनुभएको छ। त्यस्तै, कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना रहनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लीलाराज भट्टराईले समाचारमा तस्बिरको भूमिकालाई उदाहरणसहित प्रस्तुत गर्दै फोटो पत्रकारिताको सामाजिक, सञ्चारगत तथा अभिलेखीय महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले फोटोबिनाको समाचारको प्रभाव र अपूर्णताको प्रश्न उठाउँदै तस्बिरले समाचारलाई विश्वसनीय, प्रभावकारी र जीवन्त बनाउने धारणा व्यक्त गर्नुभयो।

भट्टराईले कोशी प्रदेशभित्रका फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रविधिमैत्री तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुनसरी शाखाले अघि सार्ने योजना तथा कार्यक्रमहरूमा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, सञ्चारकर्मी तथा पर्यटन व्यवसायी रविन गौतम र राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष नेत्रविक्रम बिमलीलगायतले शुभकामना मन्तव्य राख्दै नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गर्नुभएको थियो।

नवनियुक्त अध्यक्ष गुरु ढकालले आफ्नो कार्यकालमा फोटो पत्रकारहरूको सीप, दक्षता र व्यावसायिक क्षमता विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले सुनसरी जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान, दस्तावेजीकरण र प्रचारप्रसारमा तस्बिरको माध्यमबाट योगदान पुर्‍याउने लक्ष्य व्यक्त गर्दै जिल्लाका सम्भावना र विशेषतालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो।

सुनसरीका विविध सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय पक्षलाई दृश्यात्मक माध्यमबाट उजागर गर्दै राष्ट्रिय फोटो पत्रकार समूहको शाखालाई देशकै उत्कृष्ट शाखाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खेमराज श्रेष्ठले राख्नुभएको थियो भने सञ्चारकर्मी भूमिका विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

फोटो पत्रकारिता केवल दृश्य कैद गर्ने माध्यम मात्र नभई समाज, समय, इतिहास र यथार्थलाई अभिलेखित गर्ने सशक्त सञ्चार विधा हो। नयाँ कार्यसमितिको नेतृत्वमा सुनसरी शाखाले फोटो पत्रकारिताको व्यावसायिक उन्नयनसँगै जिल्लाको पहिचान, संस्कृति, पर्यटन र सम्पदाको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।