इरान।मध्यपूर्वमा बढ्दो तनावबीच ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको छ। इरानको विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्स ग्यास क्षेत्रमा हवाई आक्रमण भएको दाबी सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल तथा ग्यास बजारमा तीव्र प्रतिक्रिया देखिएको हो।
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बद्ध समाचार संस्था तस्नीम न्युज एजेन्सीका अनुसार उक्त आक्रमण साउथ पार्सस्थित पेट्रोकेमिकल संरचनालाई लक्षित गर्दै बुधबार गरिएको थियो। यद्यपि आक्रमणको स्वतन्त्र पुष्टि भने अझै भइसकेको छैन।
यस घटनापछि विश्व बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य उक्लिँदै प्रति ब्यारेल १०८.६० अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब ५ प्रतिशत वृद्धि हो। साथै, बेलायती ग्यासको बेन्चमार्क मूल्य पनि झण्डै ६ प्रतिशतले बढेर १३९ पेन्स प्रति थर्म पुगेको छ।
साउथ पार्स क्षेत्र इरान र कतारबीच साझा रूपमा उपयोग हुँदै आएको विश्वकै सबैभन्दा ठूलो ग्यास भण्डार भएकाले यस क्षेत्रमा कुनै पनि प्रकारको अस्थिरताले विश्व ऊर्जा आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।
ऊर्जा पूर्वाधारमै लक्षित आक्रमणको संकेतले आगामी दिनमा तेल तथा ग्यासको मूल्यमा थप उतारचढाव आउने सम्भावना बढाएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने देखिन्छ।




















