काठमाडौं । Iran र Israel बीच चर्किएको द्वन्द्वले विश्व ऊर्जा बजारमा तीव्र कम्पन पैदा गरेको छ। इरानले मध्यपूर्वका विभिन्न लक्ष्यमा आक्रमण तीव्र पारेसँगै कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य एकाएक उकालो लागेको हो।

विश्वव्यापी मापदण्ड मानिने Brent Crude सोमबार १० प्रतिशतले उकालो लाग्दै प्रति ब्यारेल ८२ डलर नाघेको थियो। यद्यपि दिनको अन्त्यतिर मूल्य घटेर करिब ७९ डलरमा स्थिर भएको छ। अमेरिकी बजारमा कारोबार हुने डब्लुटीआई कच्चा तेल पनि ७.६ प्रतिशतले बढेर ७२.२० डलर पुगेको छ।

ऊर्जा बजारमा अस्थिरताको मुख्य कारण स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि भएको आक्रमण र इरानको चेतावनी हो। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही सामुद्रिक मार्ग हुँदै ओसारपसार हुने भएकाले यो जलडमरूमध्यमा देखिएको तनावले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने संकेत दिएको छ।

राज्य स्वामित्वको QatarEnergy ले लाफान औद्योगिक क्षेत्रस्थित संरचनामा ड्रोन आक्रमण भएपछि तरल प्राकृतिक ग्यास उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ। कतारको मेसाइइद क्षेत्रमा अवस्थित विद्युत् संरचनामा समेत आक्रमण भएको पुष्टि गरिएको छ। छिमेकी Saudi Arabia मा पनि ड्रोन आक्रमणपछि रास तनुरा तेल प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरिएको छ।

ऊर्जा आपूर्तिमा सम्भावित अवरोधको आशंकाले युरोपेली बजारमा दबाब देखिएको छ। FTSE 100 १ प्रतिशतले घट्दा बैंकिङ तथा उड्डयन क्षेत्रका सेयरमा उल्लेख्य गिरावट आएको छ। विशेषगरी HSBC, Barclays र Standard Chartered जस्ता वित्तीय संस्थाका सेयर मूल्य घटेका छन्।

अनिश्चितताको अवस्थामा सुरक्षित लगानी मानिने सुनको मूल्य २ प्रतिशतले बढेर प्रति औँस ५ हजार ३८८ डलर पुगेको छ। ऊर्जा मूल्य दीर्घकालीन रूपमा बढिरहे मुद्रास्फीति पुनः चुलिने र त्यसले केन्द्रीय बैंकहरूलाई ब्याजदर कटौतीबाट पछि हट्न बाध्य पार्ने विश्लेषण गरिएको छ।

यद्यपि ऊर्जा अनुसन्धान संस्था एमएसटी मार्कीका साउल काभोनिकका अनुसार बजारमा पूर्ण आतंकको अवस्था भने देखिएको छैन। हालसम्म प्रमुख तेल उत्पादन तथा ढुवानी पूर्वाधार प्रत्यक्ष निशानामा नपरेको र यातायात पुनः सुचारु हुने संकेत मिले मूल्य स्थिर हुनसक्ने आकलन गरिएको छ।

तर द्वन्द्व दीर्घकालीन रूपमा लम्बिए कच्चा तेलको मूल्य १०० डलर नाघ्न सक्ने चेतावनीसमेत दिइएको छ। यसले विश्वव्यापी मुद्रास्फीति, ब्याजदर तथा आर्थिक वृद्धिमा थप दबाब सिर्जना गर्ने सम्भावना छ।

यसबीच तेल उत्पादक राष्ट्रहरूको समूह OPEC+ ले दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने सहमति जनाएको भए पनि विज्ञहरूले त्यसले बजारमा तत्काल ठोस राहत नदिन सक्ने बताएका छन्।

मध्यपूर्वको सामरिक अस्थिरता अब केवल क्षेत्रीय सुरक्षा प्रश्नमा सीमित नरही विश्व अर्थतन्त्रको स्थायित्वसँग प्रत्यक्ष गाँसिएको विषय बनेको विश्लेषकहरूको निष्कर्ष छ।