दमक । झापा जिल्ला क्षेत्र नं. ५ मा चुनावी माहोल क्रमशः तीव्र बन्दै जाँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङको विचार र राजनीतिक दृष्टिकोणले गम्भीर बहसको विषय पाएको छ । २४ माघमा कमल गाउँपालिकास्थित निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा तामाङले व्यक्त गरेको धारणा केवल चुनावी भाषण होइन, देशको वर्तमान राजनीतिक अवस्थामाथिको सशक्त आलोचना थियो ।

‘यदि मुलुकमा कानुनी शासन पूर्ण रूपमा कार्यान्वयन भएको भए, आज उम्मेदवार बनेका कतिपय पात्रहरू जेलमा हुनुपर्ने थियो,’ तामाङको यो भनाइले सत्ता, प्रतिपक्ष र अवसरवादी राजनीतिमाथि सीधा प्रश्न उठाएको छ । अतिवादका सबै रूप-सत्ता दुरुपयोग गर्ने अतिवाद होस् वा भावनात्मक उग्रतामा आधारित राजनीति-दुवैबाट देश र जनता आजित भइसकेको तामाङको ठोकुवा छ ।

भाद्र २३ र भाद्र २४ का राजनीतिक घटनाक्रमहरू उल्लेख गर्दै तामाङले जनता कुनै एक ध्रुवको होइन, दुवै अतिवादी धारबाट थकित भएको स्पष्ट पारे । यही सन्दर्भमा उनले मुलुकलाई अब सही, सन्तुलित र अग्रगामी सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्-जुन आजको राजनीतिक आवश्यकता पनि हो ।

यस्तो सुस्पष्ट विचार, निरन्तर राजनीतिक सक्रियता र वैचारिक स्पष्टता हुँदाहुँदै पनि रन्जित तामाङलाई ‘नचिन्ने’ वा ‘अवमूल्यन गर्ने’ प्रवृत्ति देखिनु कुनै सामान्य कमजोरी होइन, बरु राजनीतिक चेतनाको अभावको संकेत हो । राजनीति नाम, शक्ति र प्रचारको खेल मात्र होइन; यो विचार, दृष्टिकोण र दीर्घकालीन समाधानको अभ्यास हो-जसको प्रतिनिधित्व तामाङले गर्दै आएका छन् ।

झापा-५ मा एमालेबाट केपी शर्मा ओली, रास्वपाबाट बालेन, कांग्रेसबाट मन्धरा चिमरिया र राप्रपाबाट लक्ष्मीप्राद संग्रौला चुनावी मैदानमा रहे पनि वैचारिक स्पष्टता र सन्तुलित राजनीतिक भाष्यका हिसाबले तामाङ फरक पहिचान निर्माण गरिरहेका छन् । नेकपाको मूल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतका अनुसार चारवटै पालिका र सबै वडामा चुनावी अभियान तीव्र बनाइएको छ ।

आजको चुनाव केवल व्यक्तिको होइन, विचारको छनोट हो । रन्जित तामाङलाई बुझ्न नसक्नु उम्मेदवारको कमजोरी होइन-राजनीतिलाई गहिराइबाट हेर्ने चेतनाको अभाव हो ।