झापा । झापा क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आफ्नै पार्टीको उम्मेदवार पाउने निश्चित भएपछि नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा उत्साह थपिएको छ । लामो समयपछि सूर्य चिह्नमा मतदान गर्न पाउने वातावरण बनेसँगै यस क्षेत्रका एमालेजनले यसलाई राजनीतिक दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

नेकपा एमालेले शालीन, सरल र विवादरहित छविका नेता हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाउने निर्णयसँगै झापा-३ को राजनीतिक समीकरण स्पष्ट हुँदै गएको छ । पूर्व संविधानसभा सदस्य तथा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राजवंशी सामाजिक रूपमा स्थापित, जनतासँग नजिक र सादा जीवनशैलीमा रमाउने व्यक्तित्वका रूपमा परिचित छन् । उनलाई स्थानीयस्तरमै “धर्तीपुत्र” को रूपमा सम्मान गरिन्छ ।

यसअघि पटक-पटक राजनीतिक बाध्यताका कारण राजावादी शक्तिलाई सहयोग गर्दै आएको एमालेले यसपटक आफ्नै उम्मेदवार मैदानमा उतारेको छ । यसले झापा-३ मा एमालेको विगतको राजनीतिक बिरासत फर्काउने मात्र होइन, गणतन्त्रपक्षधर शक्तिहरूलाई एकताबद्ध गर्ने अवसरसमेत सिर्जना गरेको विश्लेषण गरिएको छ ।

एमाले नेता वसन्त बानियाँले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्,“अत्यन्तै खुसी लागेको छ । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १२ वर्षपछि झापा क्षेत्र नं. ३ मा हामीले सूर्य चिह्न बाहक उम्मेदवार पाएका छौँ । १२ वर्षको कठोर वनवासपछि रामले राज्याभिषेक गरेको कथा रामायणमा पढेका थियौँ, आज त्यसकै अनुभूति भएको छ ।”

उनले राजवंशीलाई इमानदार, शालीन र योग्य नेताको रूपमा उल्लेख गर्दै अग्रिम विजयको शुभकामना पनि व्यक्त गरेका छन् ।

उम्मेदवार चयन प्रक्रियामा झापा-३ केही समय खाली राखिँदा स्थानीय नेता कार्यकर्ताहरू असन्तुष्ट देखिएका थिए । तर आफ्नै पार्टीको उम्मेदवार तय भएसँगै उनीहरू उत्साहित भएका छन् र “विजय गरेर देखाउने” प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार, झापा-३ मा एमालेले आफ्नो ऐतिहासिक आधार कायम राख्न विगतमा राजावादी उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यता थियो । अब भने गणतन्त्रपक्षधर, स्वीकार्य र सर्वमान्य उम्मेदवारका रूपमा हरिबहादुर राजवंशी मैदानमा आउनुले मतदातालाई स्पष्ट विकल्प दिएको छ । यस अर्थमा, झापा-३ ले यसपटक गणतन्त्रवादी उम्मेदवारलाई विजयी गराउने सम्भावना बलियो बनेको देखिन्छ ।

समग्रमा, झापा क्षेत्र नम्बर ३ को निर्वाचन केवल उम्मेदवारको चयन मात्र नभई एमालेको राजनीतिक पुनरागमन, गणतन्त्रको सुदृढीकरण र स्थानीय जनभावनाको सम्मानका रूपमा हेरिएको छ ।