बनियानी । कचनकवल गाउँपालिका-६ बनियानीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक इतिहासमा एक उल्लेखनीय र प्रेरणादायी क्षण थपिएको छ। स्वर्गीय लीलादेवी तिम्सिना र पिता हरिप्रसाद तिम्सिनाको नाममा जेठी छोरी कल्पना तिम्सिना (अधिकारी) तथा उनका भाइहरू नारायण, बुद्ध र ईश्वर तिम्सिनाले विद्यालयले खडा गरेको अक्षयकोषमा तीन लाख रुपैयाँ प्रदान गर्नुभएको छ।
मोरङको विराटनगर निवासी कल्पना तिम्सिना यसै विद्यालयकी पूर्व विद्यार्थी हुनुहुन्छ। उहाँले २०५३ सालमा यही विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको हो। हाल सामुदायिक विद्यालयमै अध्यापनरत कल्पना बनियानीमै जन्मेर विद्यालय शिक्षा हासिल गरेको तिम्सिना परिवार हाल भद्रपुर नगरपालिका-८ मा बसोबास गर्दै आएको छ। पिता हरिप्रसाद तिम्सिना भने आजसम्म पनि समाजसेवामै सक्रिय रहनु भएको छ।
देशभरका सामुदायिक विद्यालयमा विशेषतः विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने यथार्थका बीच आर्थिक अभावकै कारण गुणस्तरीय शिक्षामा चुनौती देखिँदै आएको छ। २०२१ सालमा स्थापना भएको लक्ष्मी माध्यमिक विद्यालयले समेत लामो समयसम्म यही अभाव झेलेको इतिहास बोकेको छ। विद्यालयले अहिलेसम्म १६ जना प्रधानाध्यापक पाए पनि पूर्व विद्यार्थी केन्द्रीत कार्यक्रमको अभाव एक तीतो यथार्थ थियो।
यस अवस्थालाई नजिकबाट नियाल्दै आएका वर्तमान प्रधानाध्यापक सुकदेव पोख्रेलले विद्यालयको आर्थिक अवस्था सुदृढ बनाउँदै विपन्न विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यसहित व्यवस्थापन समिति अध्यक्ष तुलसीराम खतिवडाको नेतृत्व र विद्यालय परिवारको संयुक्त प्रयासमा अक्षयकोष सञ्चालन तथा शैक्षिक सुधारका विविध कार्यक्रम अघि बढाईरहेको छ।
यसै क्रममा अक्षयकोषमा विभिन्न पूर्व विद्यार्थी र शिक्षाप्रेमी व्यक्तिहरूको निरन्तर सहयोग रहँदै आएको भए पनि हालसम्मकै सबैभन्दा ठूलो एकमुष्ट रकम जम्मा गर्ने पहिलो पूर्व विद्यार्थीका रूपमा कल्पना तिम्सिना इतिहासमा दर्ज हुनु भएको छ।
अक्षयकोषमा रकम जम्मा गर्न सपरिवारसहित उपस्थित दातालाई प्रधानाध्यापक सुकदेव पोख्रेल र व्यवस्थापन समिति अध्यक्ष तुलसीराम खतिवडाले फूलमाला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो। सो अवसरमा दाताले तीन लाख रुपैयाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ।
अक्षयकोषको सावाँ रकमबाट प्राप्त ब्याजमध्ये ८० प्रतिशत रकम प्रयोग गरी प्रत्येक वर्ष सरस्वती पूजाको अवसरमा कक्षा ८ र कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई “लीलाहरी छात्रवृत्ति” प्रदान गरिने व्यवस्था गरिएको छ। कक्षा १० मा उत्कृष्ट एक छात्राले मात्र छात्रवृत्ति पाउनेछन् भने कक्षा ८ मा भने उत्कृष्ट छात्र-छात्रामध्ये एक जनालाई प्रदान गरिनेछ। प्रत्येक छात्रवृत्तिको राशि १० हजार १०१ रुपैयाँ रहेको छ। यो छात्रवृत्ति शैक्षिक सत्र २०८२ सालदेखि नै लागू हुने जनाइएको छ। ब्याज रकम अपुग भएमा आवश्यक रकम दाताले स्वयं व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
विद्यालय प्रशासनका अनुसार शैक्षिक तथा भौतिक सुधारमा सहयोग पुर्याउने सबै दातालाई निरन्तर सम्मान र प्रशंसा-पत्र प्रदान गर्दै विद्यार्थीमाझ प्रेरणाको उदाहरण प्रस्तुत गरिँदै आएको छ।
गुणस्तरीय शिक्षा र सबैको पहुँचमा सामुदायिक विद्यालयलाई अब्बल बनाउने यस महान् योगदानप्रति विद्यालय परिवारले उच्च प्रशंसा व्यक्त गर्दै देश-विदेशमा रहनु भएका सम्पूर्ण पूर्व विद्यार्थीलाई आ-आफ्नो मातृ विद्यालयप्रति उत्तरदायित्व बोध गर्दै सहयोग र सहभागिताका लागि हार्दिक आव्हान समेत गरेको छ।




















