बनियानी, झापा । लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी जय प्रसाद राजबंशीलाई नाम नखुलाउने सर्तमा एक जना उदार मनले आर्थिक सहयोग गरेका छन्।


बाल कक्षा देखिनै लक्ष्मी मा.वि. (हाल कक्षा ११) मा अध्ययन गर्दै आएका जय प्रसाद बाल्यकालदेखि नै तीखो बुद्धि र पढाइप्रति अत्यन्त लगनशील विद्यार्थीका रूपमा चिनिँदै आएका छन्। तर कक्षा ८ र ९ सम्म आइपुग्दा पारिवारिक जिम्मेवारीका कारण उनका अध्ययनमा केही ह्रास आएको विद्यालयले जनाएको छ। त्यसपछि कक्षा १० मा प्रवेश गरेपछि शिक्षक र अग्रजहरूको निरन्तर सहयोगले उनी पुनः अध्ययनमा केन्द्रित भए र यस वर्षको SEE परीक्षामा ३.०८ GPA सहित सफलता हासिल गरे।
जयको आर्थिक, सामाजिक र शैक्षिक पृष्ठभूमि मूल्याङ्कन गरी, SEE नतिजा सार्वजनिक भएलगत्तै एक जना सदाशयी व्यक्तिले विद्यालय प्रशासनलाई सम्पर्क गर्दै भनेका थिए -
“सर, निम्न वर्गीय परिवारको भाइ उत्तीर्ण भयो भन्ने सुनेर मन हर्षित छ। मैले सकेको सहयोग गर्छु, तर कृपया मेरो नाम कहिँ पनि नखुलाइदिनुहोस्।”
उक्त उदार व्यक्तिले नगद रु. ३०००/- प्रदान गरेका थिए, जुन रकम आज जय प्रसादको हातमा पुगेको विद्यालयले जानकारी दिएको छ। रकम ग्रहण गर्दा “अब के गर्छौ यो रकम ?” भन्ने प्रश्नमा जयले मुस्कुराउँदै भने -
“किताब किन्छु।”
विद्यालय परिवारले उक्त सहयोगका लागि ती सदाशयी सहयोगीप्रति हृदयदेखि कृतज्ञता प्रकट गरेको छ।
विद्यालयका अनुसार जय प्रसाद राजबंशी जस्ता मिहिनेती, जेहेन्दार र जिम्मेवार विद्यार्थीहरू अझै पनि समाजका शुभेच्छुहरूको सानो सहयोगको प्रतीक्षामा छन्।
“यस्ता सहयोगहरूले मात्र होइन, एउटा विद्यार्थीको भविष्यमा उज्यालो ल्याउन पनि ठूलो प्रेरणा दिन्छ,” विद्यालयले जनाएको छ।