झापा । झापाका प्रखर माओवादी युवा नेता सञ्चार नेम्वाङको असामयिक निधनले मात्र परिवारलाई होइन, सम्पूर्ण पार्टीपंक्ति र समर्थकलाई ठूलो धक्का पुर्याएको छ । उच्च रक्तचापको समस्या देखिएपछि काठमाडौंको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत रहँदै आज निधन भएका नेम्वाङ ४५ वर्षका मात्र थिए ।

पूर्वजनमुक्ति सेनाका साहसी योद्धा हुँदै नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्यसम्मको यात्रा तय गरेका नेम्वाङलाई राजनीतिक धरातलमा दूरदर्शी, कर्मठ र सङ्गठक नेताका रूपमा चिनिन्थ्यो । युवावस्थादेखि नै वाइसीएल लगायतका जनसंगठनमार्फत उनले आफ्नो राजनीतिक नेतृत्व क्षमता प्रदर्शन गरेका थिए ।

राजनीतिक प्रतिबद्धता र सङ्घर्षशील जीवनका कारण नेम्वाङलाई साथीभाइ मात्र होइन, प्रतिद्वन्द्वीहरूले समेत सम्मान गर्थे । पाँचथर फिदिम जन्मभूमि भए पनि उनी विगत केही वर्षदेखि बिर्तामोडमा स्थायी बसोबास गर्दै पत्नी र चार छोराछोरीसँग पारिवारिक जीवन बिताउँदै आएका थिए ।

नेम्वाङको पार्थिव शरीर बिहीबार काठमाडौंबाट झापा ल्याइने कार्यक्रम तय गरिएको छ । उनको निधनले माओवादी आन्दोलनले एक कर्मठ, समर्पित र अब्बल नेतृत्व गुमाएको भन्दै राजनीतिक वृतमा गहिरो शोक व्यक्त गरिएको छ ।