झापा - “न्याय सबैका लागि हो, आउनुहोस् जानौं र अधिकारको प्रयोग गरौं” भन्ने मुख्य नारा सहित कचनकवल गाउँपालिका भित्रका विभिन्न वडाका बस्तीहरुमा कचनकवल गाउँपालिका, A to J परियोजना, कानुन तथा संसदीय मामिला मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयको सहकार्यमा सञ्चालन गरिएको व्यवहारिक कानुनी शिक्षा तथा न्यायमा पहुँच सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत आजको कार्यक्रम स्वास्थ्य चौकी बालुवाडीमा सम्पन्न भएको छ।


विशेषगरी गर्भवती महिलामा हुने हिंसा, लैङ्गिक हिंसा र घरेलु हिंसा सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराई, उजुरी प्रशासक सरला लुइटेल, वडा अध्यक्ष भरत राजवंशी र वडा नं. २ का वडाअध्यक्ष लेखनाथ खत्री लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहजीकरण गर्नुहुँदै सहारा लिम्बू आङदेम्बेले गाउँघरका प्रत्यक्ष देखिने र भोगिने व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभयो।
“हामीलाई लाग्छ, हिंसा भनेको मात्र कुटपिट हो। तर महिलामाथि हुने मानसिक, सामाजिक, आर्थिक र यौनिक हिंसा पनि उत्तिकै गम्भीर छन्। गर्भवती महिलालाई घरमै उचित स्याहार नपाउनु, स्वास्थ्य सेवाबाट वञ्चित गरिनु वा सामाजिक दवावले शारीरिक र मानसिक पीडा हुनु पनि हिंसाकै रूप हो। यस्तो हिंसाले महिलाको मात्र होइन, गर्भमा रहेको शिशुको जीवनमा समेत गम्भीर असर पार्न सक्छ।”
सहजकर्ताले कानूनी अधिकार र उजुरी दिने प्रक्रियाबारे जानकारी गराउँदै थप्नुभयो ,“नेपालको संविधान र कानुनले प्रत्येक नागरिकलाई न्यायमा समान पहुँचको ग्यारेन्टी गरेको छ। अब महिलाले आफ्नो अधिकार बुझेर गाउँ न्यायिक समिति, प्रहरी वा महिला हेल्पलाइनमार्फत उजुरी दिन सक्नुहुन्छ। हामी सबै मिलेर ‘हिंसा मुक्त समाज’ बनाउने हो भने शिक्षा र कानुनी चेतना सबैको ढोकामा पुर्याउनुपर्छ।”
उपाध्यक्ष तथा न्यायिक समित सँयोजक नवराज भट्टराईले भन्नुभयो ,“गाउँपालिका न्यायिक समितिको अध्यक्षको हैसियतमा म भन्न चाहन्छु, कुनै पनि महिला वा परिवार हिंसाबाट पीडित भए डराई रहनुपर्ने छैन। हामीसँग उजुरी दिनुहोस्, हाम्रो पहिलो प्राथमिकता पीडितको संरक्षण र न्याय सुनिश्चित गर्नु हो। महिलामाथि हुने हिंसा हाम्रो समाजको विकासको बाधक हो, यसलाई समाप्त पार्न हामी सबैको जिम्मेवारी छ।”
उहाँले न्यायिक समितिको काम, उपलब्ध सेवा र पीडित मैत्री प्रक्रियाको बारेमा समेत सहभागीहरूलाई जानकारी गराउनुभयो।
कार्यक्रमले सहभागीहरुलाई ‘हिंसा के हो’, पीडित कहाँ उजुरी दिन सक्छन् र कसरी न्याय पाउँछन्’ भन्ने विषयमा प्रष्ट पार्नुका साथै स्थानीय निकायको भूमिका, कानूनी व्यवस्था र महिला अधिकार बारे व्यवहारिक अभिमुखीकरण गराएको थियो।
सहभागीहरूले पनि आफ्ना अनुभव र जिज्ञासा राख्दै यस्तो कार्यक्रम अझै गाउँटोलसम्म पुर्याउन आग्रह गरे।
कचनकवल गाउँपालिका भित्रका विभिन्न गाउँ-टोलहरूमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक तथा न्यायिक समित उजुरी प्रशासक सरला लुईटेलका अनुसार आगामी दिनमा अझै धेरै स्थानमा कार्यक्रम विस्तार गरिने बताउनुभयो।