झापा, असोज ३१ । कोशी प्रदेश प्रहरी वृत्तमा एउटा नाम अहिले अपराधीहरूको हृदयमा डरको प्रतीक बनेको छ - प्रहरी निरीक्षक विजय चौहान। जस्तोसुकै खतरा होस्, अनुसन्धानमा उनले देखाउने अदम्य साहस र व्यावसायिक दृढताले उनलाई “अपराधीको सास रोकिने प्रहरी”का रूपमा चिनाएको छ।

७०औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चौहानलाई प्रदेशकै उत्कृष्ट लागूऔषध अपराध अनुसन्धानकर्ताको रूपमा सम्मान गरेको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर भएको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय झापामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक राजन लिम्बूले चौहानलाई हस्तान्तरण गरेका थिए।Screenshot_2025-10-17-12-26-57-573_com.miui.gallery-edit

सम्मानपत्रमा उल्लेख छ - “प्रहरी सेवाको मर्यादा कायम राख्दै व्यावसायिक कुशलता र अनुसन्धानिक साहस प्रदर्शन गरी लागूऔषध अपराध नियन्त्रणमा उल्लेखनीय योगदान दिएको” भन्दै चौहानको कार्यप्रति कदर गरिएको हो।

भद्रपुर र झापा क्षेत्रमा उनले सञ्चालन गरेका कारबाहीहरूले नै उनको क्षमताको प्रमाण दिन्छन्। भद्रपुर-५ मा ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगरसहित दुई जना र सवारीसाधन नियन्त्रणमा लिँदा, उनले अर्को घटनामा भद्रपुर-७ मा ६ राउण्ड गोली फायर गर्दै २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित दुई जना अपराधी पक्राउ गर्न सफलता पाए। त्यसैगरी, झापा-४ मा साइकलको चक्काभित्र लुकाइएको १६७ ग्राम ब्राउनसुगर बरामद गरेर अनुसन्धानमा आफ्नो निपुणता पुनः प्रमाणित गरे।

८ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका चौहान विगत ९ महिनादेखि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत छन्। अनुसन्धानमा उनको निर्भीकता, अपराधीप्रति कठोरता र संगठनप्रति निष्ठाले उनलाई प्रहरी वृत्तमा “खतरामाथि हाँस्दै अघि बढ्ने प्रहरी निरीक्षक”को रूपमा उभ्याएको छ।

उनको दृढताको परिचय स्पष्ट छ -

“अपराध जहाँ भए पनि, चौहान त्यहाँ पुग्छन्।”