कचनकवल, झापा । सामुदायिक बिधुतीकरण कार्यक्रम अन्तर्गत साझेदारीमा सञ्चालित साना किसान बिधुत उपभोक्ता समिति, कचनकवल-२ (पथरिया) ले उपभोक्तासँग विद्युत महसुलमा खुला लुट मच्चाएको तथ्य सार्वजनिक भएको छ।
नेपाल बिधुत प्राधिकरण (नेविप्रा) ले सिचाइ प्रयोजनका लागि प्रति युनिट २ रुपैयाँ २५ पैसा र घरायसी प्रयोजनमा एम्पियर अनुसार फरक–फरक दरमा महसुल निर्धारण गरेको स्पष्ट व्यवस्था गरेको छ। तर, उक्त निर्देशिका र दरलाई बेवास्ता गर्दै साना किसान बिधुत उपभोक्ता समितिले सिचाइ प्रयोजनमै प्रति युनिट ६ रुपैयाँ ९५ पैसा उठाउँदै आएको प्रमाण फेला परेको छ - जुन कानुनी रुपमा अस्वीकार्य र सरासर उपभोक्ता शोषण हो।
उही गाउँपालिका अन्तर्गत कचनकवल-६(बनियानी) मा रहेको चन्द्रसुर्य बिधुत उपभोक्ता समिति ले भने सिचाइ तर्फ प्रति युनिट २ रुपैयाँ ५० पैसा मात्र लिँदै आएको छ र घरायसी महसुल नेविप्राको दर अनुसार नै उठाउँदै आएको छ। यसबाट स्पष्ट हुन्छ - साना किसान समितिले मनपरी ढङ्गले विनियम बनाइ मनलाग्दी महसुल निर्धारण गरी नागरिकमाथि प्रत्यक्ष आर्थिक बोझ थोपरेको छ।
नेपाल बिधुत प्राधिकरणको दर संरचनालाई बेवास्ता गर्दै यसरी फरक–फरक दर तोक्नु भनेको राज्य नियामक निकायलाई नै खुला चुनौती दिने कार्य हो। सामुदायिक बिधुतीकरणको नाममा स्थानीय स्तरमै यस्तो अनियमितता हुनु सरकारको विद्युत नीति र उपभोक्ता अधिकारको खुला उल्लङ्घन हो।
सञ्चालन नियम र सरकारी निर्देशन विपरीत महसुल असुली गर्ने समिति र जिम्मेवार निकायमाथि तत्काल कारबाही आवश्यक देखिन्छ। विद्युत महसुलमा मनपरी गर्ने, राज्यका दर दरनिर्धारण विपरीत कार्य गर्ने समितिलाई खारेज गरी उपभोक्तालाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यान जाओस्।
सामुदायिक बिधुतीकरणको आडमा उपभोक्ताबाट मनलाग्दी महसुल असुल्ने प्रथाले ग्रामीण भेगका किसान र सर्वसाधारणमाथि दोहोरो भार परेको छ। सरकारले तत्काल अनुगमन गरी यस्तो समितिलाई खारेज गर्दै विद्युत महसुलमा एकरूपता कायम गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ।




















