पाठामारी । छठ पर्वको अवसरमा भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेचीनदी सस्पेन्सन पुल भोलि कार्तिक १० गते सोमबार दिउँसो २ बजेदेखि पर्सि कार्तिक ११ गते मंगलबार बिहान ९ बजेसम्मका लागि बन्द हुने भएको छ।

नेपाल-भारत सिमानामा पर्ने सो पुलमार्फत् हरेक वर्ष छठ पर्वको समयमा हजारौं भक्तजनहरू आवत-जावत गर्ने गर्दछन्। यस वर्ष पनि पुलको पूर्वतर्फ भारत र पश्चिमतर्फ नेपालबाट पूजाका लागि ठूलो संख्यामा श्रद्धालु आउने अनुमान गरिएको छ। भीड र ठेलमठेलका कारण पुल हल्लिने तथा दुर्घटनाको सम्भावना देखिएपछि सुरक्षाका दृष्टिले पुल अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

सो निर्णय गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको अध्यक्षतामा सम्पन्न सुरक्षा समन्वय बैठकबाट गरिएको हो। बैठकमा वडा नं. ५ का अध्यक्ष नुर आलम, वडा सदस्य कृष्ण प्रसाद गणेश, वडा नं. ७ का अध्यक्ष भरत कुमार राजवंशी, वडा नं. ६ का सदस्य टेनेश राजवंशी, लालवावु मिया, सशस्त्र प्रहरी, स्थानीय युवा र छठ पूजा आयोजक समितिका प्रतिनिधिहरूको सहभागिता थियो।

वडा अध्यक्ष आलमका अनुसार, “दुवै देशका श्रद्धालु एउटै समयमा पुलमा प्रवेश गर्दा भीड बढ्ने र दुर्घटनाको सम्भावना रहने देखिएकाले सर्वसम्मत रूपमा पुल केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो।”

गाउँपालिका अध्यक्ष राजबंशीले भने, “जनताको ज्यान हाम्रो पहिलो प्राथमिकता हो। यस्ता भीडभाड हुने समयमा सुरक्षालाई बेवास्ता गर्न सकिँदैन। भद्रपुर नगरपालिकाले पनि प्रत्येक वर्ष किचकबध मेलाको समयमा पुल बन्द गर्ने गरेको उदाहरण हामीसँग छ। दुई वर्षअघि भारतको गुजरातमा सस्पेन्सन पुलमा भीड हुँदा १३७ जनाको ज्यान गएको दु:खद घटना हाम्रो लागि सचेत रहने सन्देश हो।”

उनले थपे, “छठ पूजाको बेला भारत जानु पर्ने अत्यावश्यक कारण न्यून हुन्छ। आवागमनका लागि डुंगाको वैकल्पिक व्यवस्था गरिएको छ, त्यसैले नागरिकलाई असुविधा नहुने गरी व्यवस्थापन मिलाइएको छ।”

यसैबीच स्थानीय प्रशासनले पनि सार्वजनिक सूचना जारी गर्दै सो अवधिमा पुल प्रयोग नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। सुरक्षा संयन्त्रहरू पुल आसपासमा सशक्त रूपमा परिचालन गरिने जनाइएको छ।