भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक र उदाहरणीय निर्णय गर्दै यस आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका सबै शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ ।


गाउँपालिकाको निर्णयअनुसार प्राथमिक तहका शिक्षकलाई प्रतिमहिना रु ४,६००, निम्न माध्यमिक तहका शिक्षकलाई रु ५,६००, माध्यमिक तहका शिक्षकलाई रु ९,००० र उच्च माध्यमिक (+२) तहका शिक्षकलाई रु ९,९०० का दरले स्थानीय भत्ता प्रदान गरिने भएको हो ।
शिक्षकहरूको मनोबल, जीवनस्तर र शैक्षिक गुणस्तरमा सीधा प्रभाव पार्ने उद्देश्यसहित गरिएको यो निर्णयले गाउँपालिकाभित्रको सार्वजनिक शिक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार यस कदमले शिक्षकहरूमा आत्म-गौरव र उत्तरदायित्वबोध बढाउनुका साथै गुणस्तरीय शिक्षाको नयाँ अध्याय सुरु गर्नेछ ।
शैक्षिक विकासका लागि स्थानीय तहबाट गरिएको यस्तो पहलले देशभरका अन्य स्थानीय सरकारहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ ।