झापा, कार्तिक ८ । जिल्ला झापाको मेचीनगर नगरपालिका-२ सरस्वतीचोकमा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक बालक घाइते भएका छन्।
स्थानीय कुमार बास्तोलाका १२ वर्षीय छोरा आराप बास्तोला घर नजिकै सडकमा खेलिरहेको बेला अचानक एक जंगली हात्ती आक्रमणमा परेका हुन्। आक्रमणका क्रममा बालकको घाँटी र शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ।
घाइते बालकलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका लागि लगिएको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
स्थानीयवासीले उक्त क्षेत्रमा पछिल्ला दिनमा जंगली हात्तीको आवतजावत बढ्दै गएको बताउँदै सम्बन्धित निकायले सुरक्षा तथा नियन्त्रणका उपायहरू अपनाउन माग गरेका छन्।




















