असार १६ । इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी एक मजदुरकी छोरीले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्कृष्ट नतिजा निकालेर आफ्नो नाम मात्र होइन, सम्पूर्ण समुदायको शिर गर्वले उचो बनाएकी छन् ।


भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयकी विद्यार्थी गोमा श्रेष्ठले एसईई परीक्षामा ४.० जीपीए ल्याएर चाँगुनारायण नगरपालिकामै सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी हुन् । भक्तपुर जिल्लाका ३० उत्कृष्ट विद्यार्थीमध्ये समेत उनको नाम परेको छ ।
नतिजा सार्वजनिक हुँदा गोमा धान रोपाइँको मेलाबाट फर्किएकी थिइन् । ‘नतिजा हेर्दा म एकछिन त पत्याउनै सकिनँ,’ गोमाले खुसी साट्दै भनिन्, ‘त्यो पल मेरो जीवनकै अविस्मरणीय क्षण थियो ।’
उनको संघर्षको कथा त्यत्तिकै प्रेरणादायी छ । रामेछापको खनियाँपानीबाट चार वर्षको उमेरमा बुबाआमा मीनबहादुर र आमा काली श्रेष्ठसँग भक्तपुर आएकी गोमाले अभावका बीच पनि अध्ययन छाडिनन् । ‘पढाइको लागि खनियाँपानी छाडेर भक्तपुर आएका हौँ,’ गोमाका पिता मीनबहादुरले सम्झिए, ‘इँटाभट्टामा काम गरेँ, छोरीलाई यही स्कूलमा पढाएँ ।’
विद्यालयमा पढाइसँगै बिहान-साँझ इँटाभट्टामा काम सघाउने गोमा कक्षा ९ सम्म यही जीवनचक्रमा चलिन् । कक्षा १० मा प्रवेश गरेपछि भने उनले आफ्नो दिनचर्यालाई परिवर्तन गरिन् । ‘पढाइमा ध्यान दिन बुबाआमाले धेरै भन्नुभयो । शिक्षकहरू पनि सहयोगी हुनुहुन्थ्यो,’ उनले सुनाइन्, ‘त्यसैले मैले पढाइलाई प्राथमिकतामा राखें ।’
गोमाको सपना भने अझ विशाल छ-एक असल डाक्टर बन्ने । उनले प्लस टुमा विज्ञान विषय लिएर छात्रवृत्तिमा मेडिकल पढ्ने लक्ष्य बनाएकी छन् । ‘छात्रवृत्तिमा एमबीबीएस पढेर देश र जनताको सेवा गर्न चाहन्छु,’ उनले दृढताका साथ भनिन् ।
गोमाको संघर्ष, लगनशीलता र दृढ इच्छाशक्तिले उनीजस्ता धेरै विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । सामाजिक र आर्थिक अभावबीच पनि शिक्षा हासिल गर्न सकिन्छ भन्ने प्रमाण उनै गोमा श्रेष्ठ हुन् ।