विद्यालय अनुगमनको पहिलो चरण पुरा गरेपछि कचनकवल गाउँपालिकामा सञ्चालनमा रहेका विद्यालय, विद्यार्थी र शिक्षक समुहको समग्र प्रगतिमा टेवा पु-याउने थुप्रै प्रभावकारी कार्यक्रमहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भयो। सुन्नेभन्दा देख्नुभएपछि, यथार्थ बुझिन्थ्यो - शिक्षामा सकारात्मक परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै गाउँपालिकाले संचालन गर्दै आएका १० प्रमुख कार्यक्रमहरू यसप्रकार छन् :

१. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिँदै आएका विद्यालयहरूलाई रु. १० हजारको सहयोग बजेट वितरण।

२. SEE तयारीका लागि विशेष अतिरिक्त कक्षा संचालन गर्न प्रति विषय रु. ३ हजार बजेट वितरण, जसले शैक्षिक परिणाममा गुणात्मक सुधार ल्याएको देखिन्छ।

३. विद्यालयहरूको नियमित अनुगमन पश्चात प्रतिवेदनका आधारमा प्राथमिकिकरण गर्दै शैक्षिक तथा भौतिक विकास निर्माणका लागि आवश्यक बजेटको व्यावस्थित वितरण।

४. चुहिने जस्तापाता फेरेर पूरै नयाँ छाना निर्माण, जुन सुरक्षित र सहज सिकाइ वातावरणको आधार हो।

५. आवश्यकताको आधारमा विभिन्न विद्यालयहरूमा खानेपानी, प्रविधिमैत्री कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, भवन तथा घेराबाराको निर्माण।

६. स्थानीय विषय पाठ्यपुस्तक तथा पाठ्यक्रम छपाई गरी निःशुल्क वितरण, जसले विद्यार्थीमा स्थानीय पहिचान र स्वाभिमान विकासमा सहयोग पुर्याएको छ।

७. दरबन्दी मिलान कार्य प्रभावकारी रूपमा संचालन, अपुग विद्यालयहरूलाई अनुदानमा विषयगत शिक्षकको दरबन्दी थप वितरण।

८. नवप्रवेशी शिक्षक, अन्य विषयगत शिक्षक, कर्मचारी तथा वि.ब्य.स. पदाधिकारीहरूलाई तालिम प्रदान गर्दै निरन्तर क्षमता अभिवृद्धिमा ध्यान दिइएको।

९. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार, जसले प्रतिस्पर्धात्मक तथा प्रेरणादायी वातावरण सृजना गरेको छ।

१०. शिक्षक तथा कर्मचारीहरूको मासिक तलब व्यक्तिगत बैंक खातामा नियमित रूपमा प्रत्यक्ष निकासा, पारदर्शिता र समयमै सुविधा सुनिश्चित गर्ने कदम।

यी सबै कार्यक्रमहरूले शिक्षामा गुणस्तरीय सुधार मात्र होइन, सामाजिक उत्तरदायित्वप्रति पालिकाको गहिरो प्रतिबद्धता प्रकट गर्छ।

धेरैको कुरा सुन्ने क्रममा धेरै राम्रा अभ्यासहरू ओझेलमा पर्न सक्छन्। तर यो पल भने फरक छ - राम्रोलाई राम्रो भन्ने र अझ गर्न बाँकी कामलाई सहयोगी सुझाव दिने अवसर हो।

म कचनकवलको एक शिक्षकको नाताले यस्तो रूपान्तरणको साक्षी हुन पाउँदा गर्व गर्छु। शिक्षामा यस्तो समर्पणका लागि आदरणीय गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, प्राविधिक स्टाफ, र समस्त टोलिको प्रतिबद्धता प्रति आभार व्यक्त गर्न चाहन्छु।

शिक्षामा परिवर्तन सम्भव छ - कचनकवलले देखाएको बाटो यही हो।

लेखक लक्ष्मी मावि बनियानीका प्रअ हुन्।