दिपशिखा कुनै साधारण नाम होइन। उनी त्यस्तो पात्र हुन् जसले चरम अभाव, पीडा र भोकले छटपटाएका आफ्ना सन्तान र आँसु टिलपिलाएका आमाबुबालाई छोडेर क्रान्तिको बाटो रोजेका हुन। यो बाटो सरल थिएन - यो बर्बर राज्यदमन, हिंसाको धम्का, र गोलाबारुदको भयानक संगतको बाटो थियो। तर उनले हरेस खाएनन्। आज, दिपशिखा नेपाली जनआन्दोलन र वर्ग संघर्षको स्मरणीय नाम बनिसकेका छन्।

दिपशिखाले बन्दुकको नाल अगाडि घुँडा नटेकेर आफ्ना विचारलाई छातीमा सजाए। उनले प्रमाणित गरे-क्रान्ति केवल नारामा होइन, कर्ममा बाँचिन्छ। आजको दिनमा उनी वाइसियल (Young Communist League – YCL) को अभिन्न र परिपूरक पक्ष भइसकेका छन्। यदि कसैले यो यथार्थलाई बेवास्ता गर्न खोज्छ भने, त्यो केवल यथार्थको अपमान हुनेछ।

संगठन र नेतृत्वप्रतिको अटल निष्ठा

आज कतिपय अनुशासनहीन तत्वहरू संगठनको संरचना र नेतृत्वमा प्रश्न उठाउँदै छन्। प्रश्न गर्नु स्वाभाविक प्रक्रिया हो-प्रश्नविहीन शरीर त केवल मृत शरीर हो। तर प्रश्नको नाममा गुटबन्दी, व्यक्तिगत स्वार्थ, र नेतृत्वको बदनामी गर्नु संगठनविरोधी क्रियाकलाप हो।

अहिलेसम्मको आन्दोलनको इतिहासमा हामीले देखेका छौं-गोजीमा आफ्ना मान्छे बोकेर दौडनेहरूले समानान्तर नेतृत्वको ढोल पिट्दै संगठनलाई विभाजनको संघारमा पुर्‍याउन कति कोशिस गरे। तर जनताको विश्वास र आधारभूत संरचनाको बलबुताले यस्तो कुचेष्टा हरेकपटक पराजित भएको छ।

आत्मालोचना र सुधारको बाटो

नेतृत्व असफल हुन सक्छ, संगठनमा कमजोरी आउन सक्छ। तर त्यसको उत्तर लडाइँबाट, सुधारबाट, र आत्मालोचनाबाट खोजिन्छ-पछाडि फर्केर होइन, अझ अगाडि बढेर। यही पार्टीको मूल आत्मा हो। यही कारणले हामी अझै यहाँ छौं, मैदानमा, सत्ताको अत्याचारसँग लड्न, समाज रूपान्तरण गर्न।

दिपशिखा : मेरुदण्डका रूपमा

दिपशिखा जस्ता पात्रहरू आजको परिवर्तनको मेरुदण्ड हुन्। उनीहरू कुनै पद, लाभ, वा क्याबिनेटको दौडमा छैनन्-उनीहरू छन् क्रान्तिको भूमिमा, समर्पण र बलिदानको प्रतीकका रूपमा। उनीहरूको योगदान वाइसियल मात्र होइन, सम्पूर्ण राजनीतिक आन्दोलनको मेरुदण्ड हो।

यदि कसैले संगठनप्रति साँचो निष्ठा राख्छ भने उसले आलोचना गर्नुको सट्टा नेतृत्वमा सुधार ल्याउने प्रयास गर्छ। यदि कसैमा साँच्चिकै साहस छ भने उसले मैदानमा नेतृत्व गर्छ, गुटको पिछलग्गु भएर होइन।

हामी विश्वास गर्छौं-हाम्रो नेतृत्वमा विवेक छ, निर्णय क्षमता छ, र आत्मालोचनाको साहस छ। यही आधारमा हामी भन्छौं-दिपशिखा जस्ता योद्धा हाम्रो प्रेरणा हुन्, र यिनै पात्रहरूमार्फत हामी हाम्रो आन्दोलनलाई अझ बलियो बनाउनेछौं।