रियाद, अप्रिल ७ – साउदी अरेबियाले हज यात्रा नजिकिँदै जाँदा सुरक्षात्मक उपायस्वरूप भारतसहित १४ देशका नागरिकहरूलाई जारी गरिँदै आएको उमराह, व्यापार र पारिवारिक भ्रमण भिसा अस्थायी रूपमा निलम्बन गरेको छ।


साउदी सरकारले हजअघि र हजको समयमा हुने अत्यधिक भीड नियन्त्रण गर्न तथा सुरक्षालाई प्राथमिकता दिँदै यो कदम चालेको हो। यो नयाँ यात्रा प्रतिबन्ध २०२५ जुनको मध्यसम्म लागु हुनेछ।
भिसा निलम्बनबाट प्रभावित देशहरूमा भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, इजिप्ट, इराक, यमन, जोर्डन, अल्जेरिया, मोरक्को, सुडान, ट्युनिसिया, नाइजेरिया र इथियोपिया रहेका छन्।
साउदी अधिकारीहरूले उमराह भिसा आवेदनको अन्तिम मिति २०२५ अप्रिल १३ तोकेको बताएका छन्। यस अवधिपछि नयाँ भिसा आवेदनहरू स्वीकृत हुने छैनन्।
गत वर्ष हज यात्राको क्रममा एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएपछि साउदी अधिकारीहरूले तीर्थयात्रीहरूको सुरक्षामा विशेष ध्यान दिन थालेका छन्। मृत्यु हुनेमध्ये अधिकांश अनधिकृत हज यात्री रहेको रिपोर्टहरूमा उल्लेख छ।
साउदी युवराज मोहम्मद बिन सलमानको पहलमा ल्याइएको यस निर्णयलाई सुरक्षित र व्यवस्थित हज सुनिश्चित गर्ने प्रयासको रूपमा हेरिएको छ।
साउदी धार्मिक मन्त्रालयका अनुसार, "भीड व्यवस्थापन तथा सुरक्षा चुनौतीहरू समाधान गर्न अस्थायी प्रतिबन्ध आवश्यक भएको" स्पष्ट गरिएको छ।
यो प्रतिबन्धसँगै, ती प्रभावित देशका नागरिकहरूलाई आफ्नो यात्रा योजना पुनरावलोकन गर्न र आवश्यक जानकारीका लागि आधिकारिक साउदी निकायसँग सम्पर्क राख्न आग्रह गरिएको छ।