शिक्षा समाज परिवर्तनको मुख्य आधार हो। लक्ष्मी माध्यमिक विद्यालय पनि यही उद्देश्यका साथ आफू जलेर अरूलाई उज्यालो दिने प्रयत्नमा लागेको एउटा शैक्षिक संस्था हो। तर, विडम्बना के छ भने, समाजलाई ज्ञानको उज्यालो बाँड्ने यस विद्यालयको आफ्नै भविष्य अन्योलग्रस्त बन्दै गएको छ। विद्यालयले समय–समयमा आफू स्वामित्वमा रहेको जमीन विभिन्न प्रयोजनका लागि प्रदान गर्‍यो, तर फिर्तामा केही पाएन। उल्टै, जति दियो त्यति नै घाटा बेहोरिरहनु पर्‍यो।

१.चिल्ड्रेन पार्क कि मसानघाट ?

विद्यालयले भविष्यका कर्णधार बालबालिकाको लागि चिल्ड्रेन पार्क बनाउने सोच राख्दै आफ्नो बहुमूल्य जमीन दियो। सोच थियो-बच्चाहरू खेल्ने, रमाउने, सिक्ने स्थान तयार गरिन्छ। तर परिणाम के आयो ? चिल्ड्रेन पार्कको सट्टा ‘मसानघाट’ बन्यो! बालबालिकाका लागि बनाइनुपर्ने पार्क, धुम्रपान, सुर्ती र नशाको अखडामा परिणत भयो। विद्यालयले दिएको जग्गाले शिक्षाको विकास होइन, विकृतिको जन्म दियो।

२.रङ्गशाला कि नियमित ठेक्काको घाटा ?

विद्यालयले स्थानीय खेलकुद प्रवर्द्धन गर्न ठूलो आशाका साथ आफ्नो भूमि रङ्गशाला निर्माणका लागि सुम्पियो। सोचियो— विद्यार्थीहरूलाई खेलकुदको अवसर मिल्नेछ, स्थानीय प्रतिभाहरू विकास हुनेछन्। तर, स्थिति उल्टो बन्यो। न त विद्यालयले खेल मैदान पायो, न त बार्षिक ठेक्काबाट आउने आम्दानी नै। विद्यालयले नियमित रूपमा पाउँदै आएको आर्थिक स्रोतसमेत गुमायो बदलामा बिधुत महसुलको लामो बिल पायो ।

३.प्राविधिक शिक्षालयमा भएका रुखहरू किन काटिए ?

प्राविधिक शिक्षा देशको समृद्धिका लागि आधार हो। यसै उद्देश्यले विद्यालयले प्राविधिक शिक्षालय स्थापनाका लागि आफ्नो जग्गा प्रदान गर्‍यो। शिक्षालय त बन्ने तयारीमा छ, तर त्यहाँ भएका लाखौं मुल्यका रुखहरू व्यक्तिगत स्वार्थका लागि किन काटिए। लाखौं मूल्य पर्ने रुख धमाधम काटिए, तर सरकार नदेखे झैँ गर्‍यो। विद्यालयको योगदानले प्राविधिक शिक्षाको विकास गर्नुपर्नेमा प्राकृतिक स्रोत दोहनको मैदान बन्न पुग्यो।

४.सटर निर्माण-भाडा उठ्छ कि उठ्दैन ?

विद्यालयलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले व्यवसायिक गेटमा सटरहरू निर्माण गरियो। योजना थियो-मासिक आम्दानी बढाएर विद्यालयका आवश्यकताहरू पूरा गर्ने। तर वास्तविकता कस्तो रह्यो ? केही व्यवसायीले नियमित रूपमा भाडा तिर्दै गए, तर केहीले तिर्न मानेनन्। अझ, विद्यालय प्रशासन तथा ब्यवस्थापन समिति उनीहरूबाट भाडा उठाउनै सक्दैन। आफ्नो सम्पत्तिको उचित व्यवस्थापन गर्न नसक्दा विद्यालय आर्थिक संकटमा फस्न पुग्यो।

५.भुत बंगला जस्तो विद्यालय र दुर्गन्धित शौचालय ?

समाजलाई शिक्षाको उज्यालो दिनुपर्ने विद्यालय आफैं अँध्यारोमा छ। विद्यालयको भवनको रंग खुइलिएको छ, जीर्ण बनेको छ, जता हेरे पनि भुत बंगला जस्तो देखिन्छ। विद्यार्थीसँग पढ्ने ठाउँ त छ, तर वातावरण प्रेरणादायी छैन। शौचालयको अवस्था झन् दर्दनाक छ। सफा, स्वच्छ शौचालयको अभावमा मलमुत्र रसाउँदै वरिपरि दुर्गन्ध फैलिएको छ। विद्यालयको आर्थिक स्रोत नभएको कारण मर्मत सम्भार गर्न नसकिएकोले यो समस्या समाधान गर्नुपर्छ भन्ने कुरा कसैले गम्भीर रूपमा लिएको छैन।

सरकारी सम्पत्तिको संरक्षण कसको जिम्मेवारी ?

विद्यालय निजी स्वार्थका लागि नभई सामुदायिक हितका लागि हो। सरकारी सम्पत्तिको संरक्षण गर्ने जिम्मा सरकारकै हो। तर विद्यालयले दिएको जग्गा यति अनियमित रूपमा प्रयोग भइरहेको छ कि सरकारी अधिकारीहरूले आँखामा पट्टी बाँधेर हेरिरहेका जस्ता देखिन्छन्। जब विद्यालयको सम्पत्तिमा दोहन हुन्छ, दुरुपयोग हुन्छ, तब सरकार मौन बस्छ। तर, जब कुनै व्यक्ति अनधिकृत रूपमा त्यस्तो कार्य रोक्न खोज्छ, तब सरकारले नै उसलाई रोक्छ।

लक्ष्मी माध्यमिक विद्यालय वास्तवमै आफू जलेर अरुलाई उज्यालो छर्ने एउटा उदाहरण हो। उसले निरन्तर आफ्नो स्रोत, सम्पत्ति, श्रम, समय अरूको भलाइका लागि खर्च गर्‍यो, तर अन्ततः आफैं कमजोर बन्दै गयो। विद्यालयले दिएको जमीन शिक्षाका लागि प्रयोग हुनुपर्नेमा गलत हातमा परेर अनियन्त्रित रूपमा उपयोग भइरहेको छ। आर्थिक संकट, संरचनागत जीर्णता, प्रशासनिक तथा ब्यवस्थापकीय कमजोरी, सरकारी बेवास्ता र अनुत्तरदायी समुदायका कारण विद्यालयको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

अब समय आइसक्यो-विद्यालयको भलो चाहनेहरूले कौडीको मुल्यमा विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति खोजी गरेर यस संस्थालाई बाँच्ने आधार दिनुपर्नेछ। होइन भने, ज्ञानको दीप बाल्ने यो विद्यालय आफैं खरानीमा परिणत हुनेछ।