झापा – नेपाल विद्यार्थी संघ, कचनकवल गाउँ कार्य समितिले बाह्रदशी गाउँपालिका-२, बुट्टाबारीकी १४ वर्षीया सम्झना राजवंशीलाई आर्थिक सहयोग गरेको छ। सम्झनाका दुबै मृगौला फेल भई मुटुमा समेत समस्या देखिएपछि उपचारका लागि सहयोग जुटाउन विद्यार्थी संघले पहल गरेको हो।


समितिका अध्यक्ष आशिष वाग्लेको नेतृत्वमा संकलित रु. ११,००० रकम शुक्रबार बिरामीको निजी निवासमै पुगेर हस्तान्तरण गरिएको थियो। विद्यार्थीहरूको पीडा र समस्या समाधान गर्न नेवि संघ सधैं अगाडि रहेको भन्दै "विद्यार्थीकै लागि हामी विद्यार्थी" भन्ने भावना अनुरूप आफ्नो खाजा खर्च कटाएर सम्झनाको उपचारका लागि सहयोग गरिएको समितिका सदस्य दिनेश चौधरी ले जानकारी दिए।
पढाइमा अब्बल छात्रा सम्झनाको उपचारका लागि सहयोग अपिल :
सम्झना राजवंशी हाल पशुपति माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा हुन्। केही दिनअघि उनलाई बिर्तामोडको बिर्तासिटी अस्पताल मा भर्ना गरिएको थियो। अस्पतालमा १२ दिनसम्म उपचार गराएपछि स्वास्थ्यमा केही सुधार आए पनि अझै लामो तथा खर्चालु उपचार आवश्यक रहेको चिकित्सकहरू बताउँछन्।
सम्झनाको उपचारका लागि राजवंशी खेलकुद विकास समिति, झापा ले पनि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले देश-विदेशमा रहेका सहयोगी मनहरूलाई सम्झनाको जीवन बचाउन सक्दो सहयोग गर्न अपिल गरिएको छ।
समाजका विभिन्न संघ-संस्था तथा व्यक्तिहरूले सहकार्य गरेर सम्झनाको उपचार सफल बनाउने विश्वास गरिएको छ।