झापा । भद्रपुरमा जारी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि झापा ११ एफसी र आयोजक भद्रपुर ब्लेजर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। झापा ११ र भद्रपुर ब्लेजर्स दुवैले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्।

भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस क्लब, नेपाल पुलिस क्लब र बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। उता, झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड एफसी र भुटानको डाँगा युनाइटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

फाइनल खेल आज दिउँसो ३ बजे भद्रपुरस्थित मेची रंगशालामा हुनेछ। दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रतिबद्धता जनाएका छन्। बिहीबार एयरपोर्ट होटेलमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा झापा ११ का प्रशिक्षक अङ्गुरकुमार खाडगीले आफ्नो टिम ए डिभिजन क्लबलाई पराजित गर्दै यहाँसम्म आइपुगेकोले खेलाडीहरू आत्मविश्वासले भरिएको बताएका छन्। झापा ११ का कप्तान पेमा तामाङले पछिल्लो समय टिम वर्क राम्रो भएकाले फाइनल जित्ने दाबी गरेका छन्।

त्यस्तै, भद्रपुर ब्लेजर्सका सहायक प्रशिक्षक अर्जुन राईले दुई विदेशी टिमसहित एक ए डिभिजन टोलीलाई हराएर फाइनलमा पुगेकाले टिमको मनोबल उच्च रहेको बताए। घरेलु मैदान र दर्शकको समर्थन रहेकाले उपाधि जित्ने रणनितिसहित टिम मैदानमा उत्रने उनले बताए। भद्रपुरका कप्तान आशिष चापागाईंले खेलाडीहरू उत्साहित रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताए।

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले दुवै झापाली टोली फाइनलमा पुगेको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख नगदसहित ट्रफी र मेडल पाउनेछ। प्लेयर अफ द टुर्नामेन्टले १ लाख ५ हजार नगद प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।

फागुन ७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका १० टिमले सहभागिता जनाएका थिए। आयोजक समितिले फाइनल खेललाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ।